काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद, सरकार परिवर्तनको बहस र पार्टी एकताको विषयलाई उठाउँदै वर्तमान नेतृत्वलाई सचेत हुन आग्रह गरेका छन् ।

‘जरा अभियान’ कार्यक्रममा बोल्दै शाहले सभापति गगन कुमार थापालाई पार्टीभित्र उठेका प्रश्नहरूमा स्पष्ट हुन आग्रह गरे । उनले २३ र २४ गते देउवा दम्पतीमाथि भएको आक्रमण स्वाभाविक हो कि होइन भनी प्रश्न गर्दै, शेरबहादुर देउवालाई टिकट नदिने निर्णयबारे पनि पार्टीले स्पष्ट धारणा बनाउनुपर्ने बताए ।
‘देउवालाई टिकटबाट किन वञ्चित गरियो ? उहाँको स्थान अब कहाँ हुन्छ ?’ भन्दै शाहले नेतृत्वको सम्मान र योगदानको मूल्याङ्कन हुनुपर्नेमा जोड दिए । उनले धनगढीमा सभापति आउँदा सरकार परिवर्तनको चर्चा बढी भएकोप्रति असन्तुष्टि व्यक्त गर्दै, समानुपातिक सांसद फिर्ता बोलाएर सरकार परिवर्तनको प्रयासप्रति आपत्ति जनाए ।
शाहले गगन थापालाई भविष्यको नेतृत्वको रूपमा स्वीकार गर्दै भने, “अबको १० वर्षसम्म गगन थापा नै कांग्रेसको सभापति हुनुपर्छ ।” तर, उनले थापालाई कार्यसमितिभित्रका “भाइरस” बाट सावधान रहन चेतावनी दिए ।












