Logo
Logo

संविधान संशोधन शासक वर्गको स्वार्थ अनुकूल हुन थाल्यो : मोहनविक्रम सिंह


441
Shares

काठमाडौं । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले संविधान संशोधन शासक वर्गको स्वार्थ अनुकूल हुन थालेको टिप्पणी गरेका छन् । 
 
काठमाडौंमा आयोजित संविधान संशोधन बहस कार्यक्रममा बोल्दै उनले संविधान संशोधन राष्ट्रिय आवश्यकताभन्दा पनि शासक वर्गको निहित स्वार्थ र सत्ता टिकाइराख्ने दाउपेचबाट प्रेरित रहेको आरोप लगाएका हुन् ।

The current image has no alternative text. The file name is: mohan.jpg

 महामन्त्री सिंहले देशको ऐतिहासिक आवश्यकता र जनताको हितका लागि संविधान संशोधन हुनुपर्नेमा जोड दिँदै अहिलेको सरकारले फासिस्ट स्वरूपलाई संस्थागत गर्न संशोधनको बाटो रोजेको दाबी गरे । संविधान संशोधन नेपालको आन्तरिक विषय भए पनि यस प्रक्रियामा विदेशी शक्तिहरूको चलखेल देखिनु अवाञ्छित र गम्भीर रहेको उनको ठहर छ । 

नेपालको आन्तरिक मामिलामा हुने वैदेशिक हस्तक्षेपले मुलुकको सार्वभौमिकतामाथि प्रश्न उठाएको सिंहले उल्लेख गरे । करिब एक शताब्दी लामो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त भएका ऐतिहासिक उपलब्धिहरूलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे । 

उनले भने, ‘देशको राष्ट्रिय आवश्यकताअनुसार संविधानको निर्माण वा संशोधन हुनुपर्ने हो, तर कतिपय अवस्थामा शासक वर्गले आफ्ना स्वार्थ अनुकूल कानुन निर्माण गर्ने गर्छन् । अहिलेको सरकारले फासिस्ट रूप लिँदै गएको छ र त्यसैलाई पूर्णता दिन संविधान संशोधन गर्न थालिएको त होइन भन्ने गम्भीर प्रश्न उब्जिएको छ ।’

प्रतिक्रिया दिनुहोस्