काठमाडौं । आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटलाई थप जनमुखी, पारदर्शी र सहभागितामूलक बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सुझाव सङ्कलन पोर्टल’ सञ्चालनमा ल्याएको छ ।

नागरिकको राय र विज्ञतालाई नीति निर्माणको तहमा समेट्न सरकारले यो नयाँ डिजिटल प्रणाली सञ्चालनमा ल्याएको हो ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहका अनुसार पोर्टलमार्फत स्वदेश तथा विदेशमा रहेका नेपाली नागरिक, विषयविज्ञ, नीति विश्लेषक र सरोकारवालाहरूले आफ्ना राय, सुझाव र अवधारणा सिधै सरकारसमक्ष पेस गर्न सक्नेछन् ।
सरकारले जनसहभागितालाई प्राथमिकता दिँदै सुझाव सङ्कलनका लागि छुट्टै प्लेटफर्म तयार पारेको उनले बताए ।
बजेट र नीति निर्माणको प्रक्रियालाई थप समावेशी बनाउन यो पोर्टलले सेतुको काम गर्ने सरकारको अपेक्षा छ। पोर्टलमा प्राप्त भएका सान्दर्भिक सुझावहरूलाई अध्ययन गरी आगामी नीति तथा कार्यक्रममा उचित स्थान दिइने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
इच्छुक सरोकारवाला र नागरिकले सरकारको आधिकारिक पोर्टल https://suggestions.opmcm.gov.np/ मार्फत् आफ्ना अवधारणा र सुझावहरू दर्ता गराउन सक्नेछन् ।












