Logo
Logo

व्यवसायीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने– सरकार मनको गरिब छैन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ मंसिर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक रुपमा सरकार धेरै धनी नभएपनि मनको गरिब नभएको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको साधारण उद्घाटन गर्दै उनले राज्यले कसैलाई भेदभाव नगर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशको वित्तिय अवस्था हेर्न पनि सबैलाई आग्रह गरेका छन्।


उद्योगी तथा व्यवसायीहरूले कोरोना महामारी भएकोले उद्योगको पुनरूत्थानका लागि कतिपय देशहरूले त्यहाँका उद्योगलाई आर्थिक सहयोग दिएको उल्लेख गर्दै नेपाल सरकारले पनि सहयोग गर्नुपर्ने बताएका थिए।

‘कतिवटा देशले उद्योगको पुनरुत्थानका लागि धेरै पैसा दियो, नेपाल सरकारले किन दिएन भन्ने प्रश्न उठेका छन्,’ उनले भने, ‘यो सरकार मनको गरिब होइन, वित्तिय अवस्था तपाईंहरुलाई थाहा नै छ।’

सरकारको नजरमा सबै उद्योगी व्यवसायी समान भएको उनको भनाई छ । राज्यले सबैलाई कानून सम्मत ढंगले संरक्षण प्रदान गर्ने र सुरक्षा दिने काम गर्ने प्रष्ट पारे ।
उनले राज्यले उद्योगी व्यवसायीहरुसँग सधै कारोबारमा पारदर्शिता कायम गर्न मात्रै आग्रह गरेको बताए ।

सरकार राष्ट्रिय पूँजी, राष्ट्रिय उद्योग र राष्ट्रिय पूँजीपतिहरुलाई सबल बनाउने पक्षमा रहेको उनको भनाई थियो ।

राष्ट्रिय पूँजी, उद्यमी र पूँजीपतिहरुलाई विकास गर्न नसक्दा वैदेशिक लगानी खोज्नुपर्ने बाध्यता भएको पनि उनले बताए।

देशमा पूँजी निर्माण गरी बह्य देशमा लगानी नगर्न समेत उनले आग्रह गरे । देशमा लगानीका अवसर सिद्धिएको नभई झन बढेकाले देश भित्रै लगानी बढाउन सुझाव दिए ।

‘अहिले पनि देशभित्र उपभोग हुने अधिकांश वस्तु आयात गर्नुपर्ने भएकाले त्यसलाई प्रतिस्थापन गर्न पनि उत्पादन बढाउने क्षेत्रमा लगानी गर्न आग्रह गर्छु’, उनले भने, ‘नेपालका सबै उद्योग व्यवसाय, सेवा क्षेत्र, कृषि, पर्यटन सबैलाई साथ सहयोग लिएर सहकार्य गर्न सरकार तयार छ ।’

कोभिडका कारण नागरिक, निजी क्षेत्र र सरकार सबैलाई कठिनाई परेकोले मिलेर सामना गर्नुको विकल्प नरहेको पनि प्रधानमन्त्री ओलीले बताए ।उनले भने, ‘कोरोनाको असरलाई राहत पुर्‍याउन अन्य देशका सरकारले ठूलो रकम विनियोजन गरेको तर हामीले पाएनौं भन्ने लाग्न सक्नु स्वभाविक हो । सरकार मनको गरिब नभई आफ्नो क्षमता र गक्ष अनुसार उद्यमी व्यवसायीहरुलाई सघाएको छ ।’

उनले सबैपक्ष मिलेर एकसाथ नहिडे अर्थतन्त्रलाई जोगाउन कठिन हुनेमा जोड दिए । कार्यक्रममा उद्योगी व्यवसायीहरुले भने कोरोनाका कारण अर्थतन्त्र र व्यवसायी दुःखमा भएको बताएका छन् ।

बजेटमा ल्याइएको सहुलियत कर्जाको कार्यविधि ढिलो आउँदा समेत उद्योग व्यवसायलाई निरन्तरता दिन कठिनाई भएको महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताए ।

उद्योग व्यवसायलाई निरन्तरता दिन पूँजीको अभाव भएकाले घोषणा भएका राहत प्याकेज छिटो उपलब्ध गराउन सरकारको ध्यान जानुपर्ने गोल्छाको जोड थियो ।

ओलीले संयुक्त प्रयासबाटै कोभिडको समस्या समाधान गर्नुपर्ने बताए। उनले सरकार र निजी क्षेत्र, व्यक्ति र संस्था, केन्द्र, प्रदेश, स्थानीय सरकार सबै पक्ष मिलेर संयुक्त प्रयासले कोभिडसँग जुध्न आवश्यक रहेको बताए। उनले सरकारको आर्थिक समस्याबारे पनि बुझ्नुपर्ने भन्दै गक्षअनुसार एक कदमअगाडि सहयोगको हात बढाएर व्यावसायिक उत्थानमा काम गर्ने बताए।
कोभिड(१९ विरूद्ध विभिन्न भ्याक्सिन पत्ता लगाएको भन्दै ओलीले त्यसलाई व्यापारको रूपमा नभएर साझा सम्पत्तिको रूपमा प्रयोग हुनुपर्ने बताए।

‘गरिब देशहरूले त्यो भ्याक्सिन साझा सम्पत्तिको रूपमा प्राप्त गर्ने हो कि हैन, व्यापार मात्र हुने हो कि हैन भन्ने प्रश्न आएका छन्,’ उनले भने, ‘भ्याक्सिन पत्ता लाग्नु मानव जातिका निम्ति ठूलो उपलब्धी हो। मानव जातिले साझा रूपमा प्रयोग गर्न सक्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्