सरकारको नेतृत्व गरेको पार्टीभित्र विवाद हुनु दुःखद् : मन्त्री गुरुङ « Drishti News – Nepalese News Portal
Logo

सरकारको नेतृत्व गरेको पार्टीभित्र विवाद हुनु दुःखद् : मन्त्री गुरुङ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ११ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कुनै व्यक्ति वा समूहको स्वार्थका निम्ति सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन् ।
विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति र भीमेश्वर नगरपालिका दोलखाले काठमाडौंमा आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा बोल्दै मन्त्री गुरुङले आफूहरु परिवर्तन हुन तयार रहेको तर सत्ता र शक्तिकै लागि सरकारको नेतृत्व परिवर्तन नहुने स्पष्ट पारेका हुन् । मन्त्री गुरुङले कोरोना महामारी जस्तो संकटका समयमा सरकारको नेतृत्व गरेको पार्टी नेकपाभित्र विवाद हुनु दुःखद् भएको बताए । उनले भने, ‘सरकारले जनताको भावनाअनुसार जनता, राष्ट्र र राष्ट्रियताको पक्षमा काम गरिरहेको छ, यस बेलामा सकारात्मक सोचका साथ सरकारलाई सहयोग गर्न आग्रह गर्दछु ।’
सरकारका प्रवक्ता गुरुङले दोलखा जिल्लास्थित ‘दोलखा फिल्मी सिटी’ को संस्थागत विकासमा सरकार लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले दोलखा साहित्य समृद्धिका लागि अनुपम थलो भएको बताउँदै त्यसलाई थप उचाइमा पु¥याउन सरकारसँग आग्रह गरे ।
साहित्यकार एमबी खड्काद्वारा लिखित ‘डाँडाको लाँकुरी’ कवितासंग्रहमा ५० कविता समाविष्ट छन् । त्यस्तै ‘दोलखाली सर्जक’ मा २४ पुस्तकमाथिका समीक्षा संलग्न छन् ।

प्रतिक्रिया दिनुहोस्