काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा स्कटल्याण्डले अमेरिकालाई ३२२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बिहीबार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको स्कटल्याण्डले अमेरिकाविरुद्ध ४७ ओभरमा ६ विकेट गुमाएर ३२१ रनको योगफल खडा गरेको हो । गएरातिको वर्षाका कारण आउटफिल्ड भिजेका कारण खेलमा तीन ओभर घटाइएको थियो ।
स्कटल्याण्डको निम्ति ओपनर फिन्ले म्याकक्रिथले ७७ रनको अर्धशतकीय इनिङ खेले । १०२ बल खेलेको म्याकक्रिथले ६ चौका र एक छक्का प्रहार गरे । उनले दोस्रो विकेटको निम्ति ब्रान्डन म्याकमुनेलसँग ९२ रनको अर्धशतकीय साझेदारी गरे ।
म्याथ्यु क्रसले ५८ रन बनाउँदै टोलीको निम्ति दोस्रो अर्धशतक प्रहार गरे । क्रसले ३२ बलमा आठ चौका र दुई छक्का प्रहार गरे । तेस्रो अर्धशतक बनाएका ब्रान्डन म्याकमुलेनले ५५ रन बनाए । म्याकमुलेनले ४० बलमा पाँच चौका र तीन छक्का प्रहार गरे ।
माइकल इंग्लिसले ३२ रन जोडे । अविजित रहेका माइकल लिस्कले २८ रन बनाउँदा मार्क वाटले २५, जर्ज मुन्सेले २० र कप्तान रिचि बेरिंगटनले १० रन बनाए । अमेरिकाका सौरभ नेत्रावल्कर र जसदीप सिंहले समान दुई विकेट लिए । मिलिन्द कुमार र शुभम राञ्जानेले समान एक विकेट लिए ।
खेलमा स्कटल्याण्ड लगातार दोस्रो जितको खोजीमा छ । ३६ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको स्कटल्याण्डले हिजो सम्पन्न श्रृंखलाको पहिलो खेलमा डीएलएस प्रणालीका आधारमा नेपाललाई दुई रनले पराजित गर्दै विजयी सुरुआत गरेको थियो ।
स्कटल्याण्डले लिग–२ मा हालसम्म १९ खेल खेल्दा १५ जित र आठ हार व्यहोरेको छ । टोलीको ६ खेल भने रद्द भएको थियो । अमेरिका भने विजयी सुरुआतको खोजीमा रहेको अमेरिका भने जित निकाल्दै शीर्ष स्थानमामा स्पष्ट अग्रता चाहन्छ । समान ३६ अंक जोडे पनि स्कटल्याण्डलाई रनरेटले पछाडी परेको अमेरिकाले लिग–२ मा हालसम्म २४ खेल खेल्दा १८ जित र ६ हार व्यहोरेको छ ।














