काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनका कारण पार्टी ३८ सिटमा खुम्चिएको बताएका छन् ।

कांग्रेस कर्णाली प्रदेश समितिले सुर्खेतमा आयोजना गरेको ‘पार्टीको बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै खड्काले विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको बताएका हुन् । खड्काले अनावश्यक रूपमा गरिएको विशेष महाधिवेशनले गर्दा प्रतिनिधि सभाको निर्वाचनमा खुम्चिने अवस्था आएको बताए ।
‘कांग्रेसको यस्तो अवस्था नभएको भए देशको परिस्थिति अर्कै हुन्थ्यो’, खड्काले भने, ‘महाधिवेशन नभएको भए, रास्वापा पहिलो पार्टी हुन्थ्यो धेरैमा, ७०-८० सिट हुन्थ्यो । नेपाली कांग्रेस ६०-६५, नेकपा एमाले ३०-३५ र माओवादी १५-२० सिटमा हुन्थ्यो । विशेष महाधिवेशनका कारण कांग्रेस ३८ सिटमा खुम्चियो । रास्वपा दुई तिहाइ नजिक पुग्यो ।’
कांग्रेसको एकता लागि आयोजना भएको विचार गोष्ठीमा उनले पार्टी अहिले विभाजनको सँघारमा पुगेको बताए । ‘वर्तमान पार्टी नेतृत्वभित्र अहङ्कार मौलाएको छ’, खड्काले भने, ‘व्यक्तिगत अहङ्कार र स्वार्थले सङ्गठनलाई क्षति पु¥याएको छ भने विभाजनको बाटो देखाएको छ ।’














