Logo
Logo

फरक प्राविधिक ‘स्पेसिफिकेसन’मा उत्पादन हुनु अन्तर्राष्ट्रिय अभ्यास : नाइमा


252
Shares

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले विद्युतीय सवारीसाधन (ईभी)को क्षमताबारे पछिल्लो समय भइरहेका विभिन्न टिप्पणी र चर्चाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

शनिबार (जेठ २) जारी विज्ञप्तिमा नाइमाले अन्तर्राष्ट्रिय मान्यताप्राप्त उत्पादक कम्पनीहरूले जारी गरेका आधिकारिक प्राविधिक विवरण, परीक्षण प्रतिवेदन तथा प्रमाणीकरण प्रक्रियाका आधारमा नेपालमा ईभी आयात हुँदै आएको स्पष्ट पारेको छ ।

नाइमाका अनुसार विश्व अटोमोबाइल उद्योगमा एउटै मोडलका सवारीसाधन विभिन्न देश, नियामकीय व्यवस्था तथा बजारको आवश्यकताअनुसार फरक–फरक प्राविधिक ‘स्पेसिफिकेसन’मा उत्पादन हुनु सामान्य अन्तर्राष्ट्रिय अभ्यास हो ।

“त्यसैले वेबसाइटमा उपलब्ध विवरण, मोडल नाम वा बाह्य सूचनाका आधारमा मात्रै मोटर क्षमतासम्बन्धी निष्कर्ष निकाल्नु प्राविधिक रूपमा विश्वसनीय मान्न सकिँदैन,” विज्ञप्तिमा उल्लेख छ ।

नाइमाले हाल नेपालमा ईभी सवारीसाधनको मोटर क्षमता परीक्षण तथा प्रमाणीकरणका लागि स्पष्ट राष्ट्रिय प्राविधिक मापदण्ड, संस्थागत परीक्षण प्रणाली र एकीकृत कार्यविधि पूर्ण रूपमा कार्यान्वयनमा नआइसकेको जनाएको छ ।

“यही अस्पष्टताका कारण विभिन्न तहमा भ्रम, अन्योल तथा फरक–फरक व्याख्या उत्पन्न भइरहेको देखिन्छ,” विज्ञप्तिमा भनिएको छ, “ईभी सवारीसाधनको प्राविधिक मूल्यांकन आधिकारिक उत्पादक कम्पनीबाट जारी प्रमाणित विवरण, अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त परीक्षण निकायका प्रमाणपत्र तथा स्थापित प्राविधिक मापदण्डका आधारमा गरिनुपर्छ ।”

नाइमाले सम्बन्धित सरकारी निकायबीच एकरूप व्याख्या र कार्यान्वयन सुनिश्चित गर्न स्पष्ट प्राविधिक कार्यविधि, परीक्षण पूर्वाधार तथा प्रमाणीकरण प्रणाली तत्काल विकास गर्न आवश्यक रहेकोमा जोड दिएको छ ।

“राष्ट्रिय प्राथमिकतासँग प्रत्यक्ष रूपमा जोडिएको यस क्षेत्रका विषयहरू तथ्य, प्राविधिक अध्ययन तथा अन्तर्राष्ट्रिय अभ्यासका आधारमा मूल्यांकन गरिनुपर्छ,” विज्ञप्तिमा उल्लेख छ ।

विद्युतीय सवारी क्षेत्रसँग सम्बन्धित प्राविधिक तथा नीतिगत विषय पर्याप्त अध्ययन, प्रमाणित तथ्य र स्थापित अन्तर्राष्ट्रिय अभ्यासका आधारमा विश्लेषण गरिनुपर्ने नाइमाको धारणा छ ।

“अपुष्ट सूचना वा फरक–फरक व्याख्याले बजारमा अनावश्यक अन्योल सिर्जना गर्नुका साथै उपभोक्ता विश्वास, लगानीको वातावरण र विद्युतीय सवारी क्षेत्रको दीर्घकालीन विकास प्रक्रियामा असर पार्न सक्छ,” नाइमाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्