काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीले देखाएको जनमुखी राजनीति, वैचारिक स्पष्टता, राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक प्रतिबद्धता अझै पनि उत्तिकै सान्दर्भिक रहेको बताएकी छन् ।

मदन–आश्रित स्मृति दिवसका अवसरमा सामाजिक सञ्जालमा उनले लेख्दै लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन अझ जिम्मेवार र संवेदनशील भएर अघि बढ्नुपर्नेमा जोड दिइन् । जेठ ३ गते नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक तथा ‘जनताको बहुदलीय जनवाद (जबज)’ का प्रणेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको ३३औँ स्मृति दिवसका अवसरमा पूर्वराष्ट्रपति भण्डारीले दुवै नेताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेकी छन् । उनले लेखेकी छन्, “मदन–आश्रितले कम्युनिष्ट आन्दोलनप्रति जनताको अपार माया, विश्वास र समर्थन जुटाउँदै आन्दोलनलाई सफलताको उचाइमा पुर्याउन अभूतपूर्व योगदान गर्नुभएको थियो ।”
भण्डारीले मदन भण्डारीद्वारा प्रस्तुत ‘जनताको बहुदलीय जनवाद’ ले लोकतान्त्रिक माध्यमबाट सामाजिक न्याय, समृद्धि र रूपान्तरणको मार्ग देखाएको र नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्न ऐतिहासिक भूमिका खेलेको बताइन् ।
“विगतका उपलब्धि, वर्तमानका अवसर र चुनौतीलाई ध्यानमा राखेर हामी अझ जिम्मेवार बन्नुपर्छ,” उनले भनिन्, “देखिएका चुनौतीहरूको सामना गर्न सुदृढ सांगठनिक एकता, नेता–कार्यकर्ताको सक्रियता, त्याग र समर्पण अपरिहार्य छ ।”
पूर्वराष्ट्रपतिले जनअपेक्षा र सुधारको चाहनालाई सम्बोधन गर्दै पार्टी र जनताबीचको सम्बन्ध थप मजबुत बनाउनुपर्नेमा जोड दिइन् । साथै सिद्धान्त र व्यवहारबीच तालमेल मिलाउँदै जनविश्वास आर्जन गर्न निरन्तर प्रयास गर्नुपर्ने बताइन् ।














