
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षलाई पनि सँगसँगै लिएर जान र पार्टीलाई एकताबद्ध बनाउन आफूले प्रयास गरिरहेको बताएका छन् ।
प्रजातान्त्रिक विचार समाजले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विशेष महाधिवेशनमा सहभागी नरहेका देउवा पक्षका नेताहरूको घरघरमा पुगेर पार्टीलाई एकताबद्ध बनाउन आफूले प्रयास गरिरहेको बताएको हुन् ।
उनले आफुले सार्वजनिक मञ्चहरू तथा पार्टीका कतिपय नेताहरुको घरघरमै पुगेर प्रयास गर्दापनि कतिपयले पार्टी एकताबद्ध गर्न सभापतिबाट प्रयास नभएको भन्ने वक्तव्य दिने गरेको उनको भनाइ थियो । सभापति थापाले के गर्दा पार्टी एकताका लागि प्रयास हुने हो भन्ने कुरा भनिदिन पनि आग्रह गरेका छन्।
‘पार्टीलाई मिलाउने मिलाउने मिलाउने भन्दैगर्दा मैले खुला मञ्चमा आएर सबैलाई सँगसँगै लिएर जाने भनेर भनिरहेको छु भने बन्द कोठामा पनि यही कुरा भनेँ होला, अझ योभन्दा बढी निहुरिएर भने होला,’ उनले भने, ‘हातै जोडेर भनेँ, मेरा अग्रज नेताहरू। अघि यहाँ कुरा भयो अरे, मिलाउन प्रयास नै भएन। मलाई भनिदिनुस्– के ग¥यो भने प्रयास हुने हो। अहिले के गर्नुपर्ने हो? दुइटा पार्टी त छैन!’
नेता पूर्णबहादुर खड्काले कर्णाली प्रदेशस्तरीय भेलामा बोल्दै शनिबार आफूले नचाहे पनि ‘पार्टी फुटको डिलमा पुगेको र सभापतिको निर्णयमा भर पर्ने’ कुरा बताएका थिए । त्यसतर्फ लक्षित गर्दै आज सभापति थापाले नेताहरूसँग ‘निहुरिएर, हात जोडेर’ संवाद गरिरहेको र काम गर्न चाहनेलाई केन्द्रीय समितिमा ल्याइरहेको कुरा बताएका हुन् ।
गत पुसमा भएको विशेष महाधिवेशनमा को आएको थियो वा आएको थिएन भन्ने आधारमा कोही कसैले अवसर प्राप्त नगर्ने पनि सभापति थापाले बताए । ‘विशेष महाधिवेशनमा भाग लिएको थियो कि थिएन भन्ने आधारमा प्रादेशिक सरकार, संसदीय दल, स्थानीय सरकार वा भ्रातृ संस्थाका बारेमा एउटा पनि निर्णय हुँदैन,’ उनले भने।
उनले क्रियाशील सदस्यता अद्यावधिक अभियानबारे पनि केही कुरा राखेका थिए। ‘म कांग्रेस सदस्यता निरन्तर गर्न चाहन्छु, यत्ति भनिदिनुस् भन्दा पनि ल त भन्लास् त, कांग्रेसको सदस्य हुँ भनेर भन्लास् त, कांग्रेस पार्टी सक्काउने? भनेर नेताहरूको अभिव्यक्ति सुनिरहेको छु,’ उनले भने, ‘अद्यावधिक नगर्न आह्वान गर्ने लहर चलेको छ, के भनेको त्यो? अहिले सदस्य रहेकोले म निरन्तर सदस्य हुन चाहन्छु भनिदिनुस् भनेको हो। खोजेर ३० वर्षमुनिकालाई क्रियाशील सदस्य बनाउनुस् भनेको छ। नयाँ विधानमा प्रत्येक निर्वाचन क्षेत्रबाट ३ जनाका दरले ३० वर्षमुनिका महाधिवेशन प्रतिनिधि आउने व्यवस्था छ।’
नेता पूर्णबहादुर खड्का, शेखर कोइराला लगायतले १५ औं महाधिवेशनका लागि क्रियाशील नवीकरण र नयाँ वितरण गरिसकेको भन्दै अद्यावधिक नगर्न आग्रह गरिरहेका छन् । तर संस्थापन पक्षले कांग्रेस आइडीका लागि नाम अद्यावधिक गर्न र नगरे असोजको १५औं महाधिवेशनमा भाग लिन नपाउने बताइरहेको छ ।














