काठमाडौं । दिल्ली क्यापिटल्सले जारी आइपिएलमा राजस्थान रोयल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दिल्लीले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो ।

राजस्थानले दिएको १९४ रनको लक्ष्य पछाएको दिल्लीले १९.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।
दिल्लीको जितमा केएल राहुलले सर्बाधिक ५८ रन बनाए भने अभिषेक पोरेलले ५१, कप्तान अक्सर पटेलले ३४ र आशुतोष शर्माले १८ रन बनाएका थिए ।त्यस्तै राजस्थानका बलर जोफ्रा आर्चर र बृजेश शर्माले २-२ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै १९३ रन बनाएको थियो । राजस्थानका लागि ध्रुव जुरेलले ५३ रन बनाए भने कप्तान रियान परागले ५१ तथा वैभव सुर्यबंशीले ४६ रन बनाएका थिए ।
त्यस्तै दिल्लीका बलर मिचेल स्ट्राकले ४ विकेट लिए भने लुंगी एंगीडी र माधव तिवारीले २-२ विकेट लिएका थिए ।
दिल्लीको यो जितपछि प्लेअफको समीकरण रोचक हुने देखिएको छ । अहिलेसम्म रोयल च्यालेन्जर्स बैंगलुरु प्लेअफमा पुगिसकेको छ भने लखनउ र मुम्बई प्लेअफको दौडबाट बाहिर रहेका छन् । अन्य तिन स्थानको लागि सात टिमको प्रतिष्पर्धा रहेको छ ।
यो जितपछि दिल्लीको १३ खेलमा १२ अङ्क भएको छ र हाल सातौँ स्थानमा रहेको छ । दिल्लीले अब अन्तिम खेल आगामी आइतबार कोलकोतासँग खेल्ने छ । त्यस्तै राजस्थानको भने १२ खेलमा १२ अङ्क रहेको छ र हाल छैटौँ स्थानमा छ । राजस्थानले अब आफ्ना बाँकी दुई खेल आगामी मङ्गलवार लखनउसँग र आगामी आइतबार मुम्बईसँग खेल्ने छ ।














