काठमाडौं । नेपाली सेनाले ठेक्का लिएको काठमाडौं तराई जोड्ने द्रुत मार्ग लगायतका २७ वटा राष्ट्रिय गौरवका आयोजनाहरुको गति सुस्त देखिएको छ । सरकारले तीव्र आर्थिक विकास र आम नागरिकलाई विकासको प्रतिफल दिलाउने उद्देश्यका साथ अगाडि बढाएका राष्ट्रिय गौरवका आयोजनाहरूबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकी सुस्त पाइएको हो ।

हालसम्म २७ वटा राष्ट्रिय गौरवका आयोजनामा ५ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ बराबरको लगानी भइसकेको छ । तर, तीमध्ये हालसम्म तीनवटा आयोजना मात्र सम्पन्न भएका छन् । लगानी गरिएका अधिकांश आयोजनाबाट लक्ष्यअनुसारको प्रतिफल हासिल हुन सकेका छैनन ।
हाल राष्ट्रिय गौरवका आयोजनाको संशोधित लागत अनुमान २४ खर्ब १५ अर्ब ६ करोड ९७ लाख रुपैयाँ र ६९ करोड ७० लाख अमेरिकी डलर पुगेको छ । कुल आयोजनाहरूमध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल मात्रै सम्पन्न भएका हुन् ।
सम्पन्न भएका ३ बाहेक बाँकी २४ आयोजनाको समष्टिगत भौतिक प्रगति हेर्दा ८० प्रतिशत वा सोभन्दा माथि प्रगति हासिल गर्ने ५ वटा आयोजना मात्र छन् । यस्तै, ५० देखि ८० प्रतिशत प्रगति हासिल गर्ने ४ वटा, ५० प्रतिशतभन्दा न्यून प्रगति भएका आयोजना ९ वटा, भौतिक प्रगति नै नखुलेका ४ वटा र काम सुरु नै नभएका २ वटा आयोजना रहेका छन् ।
आर्थिक वर्ष २०७८÷७९ सम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने अवधि रहेको पशुपति क्षेत्र विकास कोषको हालसम्मको प्रगतिसमेत स्पष्ट नभएको प्रतिवेदनमा उल्लेख छ । अधिकांश आयोजनाको कार्यक्षेत्र थप गर्दै जाने तथा तोकिएको अवधिमा निर्माण कार्य सम्पन्न हुन नसकेका कारण लगानीअनुसारको प्रतिफल हासिल हुन नसकेको हो ।
यसैगरी, आयोजनाहरूको बारम्बार म्याद थपिने प्रवृत्तिका कारण लागत वृद्धि हुनुका साथै आयोजनाहरूको उपादेयता र प्रभावकारितामाथि समेत गम्भीर प्रश्न उठेको प्रतिवेदनमा औँल्याइएको छ ।














