Logo
Logo

ओलीले बहिष्कार गरे मदन-आश्रित जयन्ती


756
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठ ३ गते आइतबार बल्खुमा आयोजित मदन–आश्रित जयन्ती बहिष्कार गरेका छन् । विद्या भण्डारी उपस्थित भएको उक्त कार्यक्रम ओली स्वास्थ्यका कारण अनुपस्थित भएको बताइए पनि एकथरि एमालेले त्यसलाई बहिष्कारको संज्ञा दिएका छन् ।

एमालेभित्र महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलसँग ओली निकै क्रुद्ध छन् । त्यहीँ झोकमा उपाध्यक्ष रामबहादुर थापा बादललाई कार्यवाहक सुम्पिएर पोखरेल र पौडेलसँग बदला लिएका छन् । कार्यबाहक अध्यक्षको हैसियत र दोस्रो वरियताको दर्जा दिएर ओलीले बादललाई एमालेका नेतृत्व तहका नेताहरुविरुद्ध नै विष ओकल्न लगाएपछि महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई बोकेर चुनौती दिएका छन् ।

उनीहरुले नै भण्डारीलाई प्रमुख अतिथि बनाएर कार्यक्रम गरेपछि ओलीका लागि चुनौती बनेको छ । एमालेभित्र ओलीलाई सहज बर्हिगमन गराउन भण्डारी नै उपयुक्त पात्र भएका कारण यतिबेला पोखरेल र पौडेलले भण्डारीलाई अघि सार्ने एमाले स्रोतले दृष्टिलाई बताएको छ । आइतबार बल्खुमा आयोजित मदन–आश्रित जयन्तीपछि एमालेको भावी नेतृत्व भण्डारीले सम्हाल्दै छिन कि भन्ने शंकाको लाभ पैदा भएको छ ।

एमाले अध्यक्ष ओलीले महासचिव पोखरेललाई ‘मैले जोगाइदिएको पद भनेका थिए’ भने पौडेललाई पनि विभिन्न काण्डबाट जोगाएको भन्दै धम्क्याएपछि लुम्बिनी प्रदेशका यी दुई नेताले विद्या भण्डारीको साथ खोजेका छन् । ११आंै महाधिवेशनमा ईश्वर पोखरेलको विपक्षमा रहेका यी दुई नेताहरुले विद्यालाई अघि सारेर नेतृत्व आफ्नो हातमा लिन खोजिरहेका छन् ।

विगतमा ओलीले पार्टीभित्रबाटै एकपछि अर्को निर्णय गराउदै विद्या भण्डारीलाई पार्टीको सदस्यबाट समेत बन्चित गरेका थिए । ओलीले समयकालमा विभिन्न अभिव्यक्ति मार्फत निवर्तमान राष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन सन्देश दिइरहेका थिए ।

ओलीले पार्टीका महाधिवेशनको हलमा होस वा आन्तरिक बैठकहरुमा विद्या भण्डारीलाई सम्मानजनक स्थानमा पुर्याएकाले पार्टीमा फर्काउन नसक्ने अभिव्यक्ति दिँदै आएका थिए । तर फागुन २१ गतेको निर्वाचन परिणामले देशभरिबाट नेतृत्व परिवर्तनको दबाब आएको छ ।

भदौ २३ र २४ गतेको घटनामा जाँचबुझ आयोगले ओलीमाथि दण्ड सजायको सिफारिस गरेपछि ओली मानसिक रुपमा तनावमा छन् । पत्थरीको अप्रेसनपछि घर फर्किएका ओलीले अध्यक्ष पद छाडे आफू थप कमजोर हुने र सरकारले पुनः पक्राउ गर्ने डरले अध्यक्ष पद छाड्न मानिरहेका छैनन् ।

तर समय फेरियो, परिस्थिति बदलियो । ओली राष्ट्रिय राजनीतिको केन्द्रबाट ओझेलमा परेर गुण्डुमा सीमित भएका छन् । मुलुकको दोस्रो ठूलो दलबाट एमाले तेस्रो दलमा सीमित भएको छ भने ओली स्वयं झापा–५ बाट बालेन साहसँग पराजित भएका छन् ।

गत आइतबार तिनै महासचिव शंकर पोखरेलले एमालेको पुरानो पार्टी कार्यालयमा पूर्वराष्ट्रपति भण्डारीलाई प्रमुख अतिथि बनाएर मदन–आश्रितको ३३ औं स्मति दिवस मनाउन बाध्य भए । यसअघि एमालेका कुनै पनि कार्यक्रममा नबोलाइएकी भण्डारीलाई आइतबार बल्खुमा प्रमुख अतिथि बनाइएको थियो । उनलाई एमालेको पूर्व उपाध्यक्षको हैसियतमा अतिथि बनाइएको थियो ।

भण्डारीलाई एक वर्ष अघि अतिथिको निम्ता गरिएको थिएन । यो घटनाक्रमसँगसँगै महासचिव शंकर पोखरेलकै अगुवाइमा रोकिएको सदस्यता नवीकरण अब के हुन्छ ? भन्ने प्रश्न उठेको छ । आइतबार उनै भण्डारीलाई प्रमुख अतिथि स्वीकार गरेका पोखरेललाई अब सदस्यता नवीकरण बाटो खुलेको छ ।

यतिबेला ओलीको विरुद्ध महासचिव पोखरेल र उपाध्यक्ष विष्णु पौडेललगायतका एमाले नेताहरु एकैठाउँ उभिएका छन् ।

जबकि एमालेले औपचारिक निर्णय गर्दै भण्डारीको सदस्यता होल्ड गरेको थियो । उनी पार्टीमा सक्रिय हुन्छु भन्दा पनि पार्टीले उनलाई रोकेको थियो । भदौ २३ र २४ को जेन–जी विद्रोह र २१ फागुनको चुनावी नतिजा एमालेका लागि अनुकूल भएन ।

त्यसैले एमालेमा जुट्नुपर्छ भन्ने विषयले प्राथमिकता पाएको छ । यही अभिलाषासहित भण्डारीलाई बल्खुमा ल्याइएको चर्चा एकाथरीले गरेको भएपनि त्यो ओलीका लागि चुनौति खडा गरिएको प्रष्टछ । केही समयअघि मात्रै पार्टीले गरेको तिरस्कारलाई भण्डारी स्वयम्ले बल्खु पुगेर बेवास्ता गरिदिइन् । बरु पार्टी एकताका लागि के–के गर्न सकिन्छ भन्ने अर्थपूर्ण अभिव्यक्ति दिइन् ।

‘राजनीति जनसेवा र समाज रूपान्तरणको अभियान हो भन्ने मान्यतालाई स्थापित गर्न अविचलित ढंगले क्रियाशील हुनैपर्छ,’ उनले अध्यक्ष केपी ओलीतिर संकेत गर्दै भनिन्, ‘आज मदन–आश्रितको स्मृतिको अवसरमा हामीले आत्मसुधार, एकता, जनतासँगको सम्बन्ध सुदृढीकरण तथा राष्ट्र र जनताको हितलाई सर्वोपरि राखेर अघि बढ्न प्रेरणा लिनुपर्छ ।’ कार्यक्रममा ओली थिएनन् । तर, उनीपक्षीय सबै शीर्ष नेताहरू सहभागी थिए ।

उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, ओलीसँग अध्यक्ष लडेका ईश्वर पोखरेलसहितका थुप्रै नेता सहभागी थिए । ओलीबाहेकको सिङ्गो एमाले पुरानो केन्द्रीय कार्यालय बल्खु प्रांगणमा उपस्थित थियो । पार्टीले आदर्श सिद्धान्त मानेको मदन भण्डारीकै स्मृति दिवसका दिन बल्खुमा प्रमुख अतिथिसहित भण्डारीलाई उपस्थित गराउनु आफैँमा अर्थपूर्ण सन्देश थियो । सदस्यता नवीकरण नगरेपछि जेन–जी विद्रोहपछि ओली र भण्डारीबीच भेटवार्ता भइसकेको छ ।

ओली उपचारमा रहँदा शिक्षण अस्पताल र गुण्डुमा दुईबीच भेट भएको हो । भण्डारीको सदस्यता २०८२ साउनमा होल्ड गरिएको थियो । एमालेमा आन्तरिक ध्रुवीकरण फरक बनिरहेको बेला ओली र भण्डारबीच फेरि सहज वातावरण बनेको त छैन तर एमाले पंक्तिले ओलीको विकल्पमा भण्डारीलाई उम्भयाउने संभावना बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्