Logo
Logo

ओली र प्रचण्डको प्रस्तावमा मंगलबार छलफल हुने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ मंसिर ।
कुनै महत्वपूर्ण निर्णयविना नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ । बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आफ्नो राजनीतिक प्रतिवेदन पेस गरेका छन् । यसअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्तावको जवाफमा ओलीले आफ्नो प्रतिवेदन पेस गरेका हुन् ।

बैठकपछि प्रतिक्रिया दिँदै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताए । ‘अध्यक्ष कमरेडले आफ्नो प्रतिवेदन पेस गर्नुभयो । अब प्रतिवेदन अध्ययन गरेर साथै थप गृहकार्य गरेर अर्काे सचिवालय बैठक १६ गते पार्टीको केन्द्रीय कार्यालयमा बस्ने निर्णय भएको छ,’ उनले भने ।

प्रचण्डको प्रतिवेदनमा उल्लेख भएका कतिपय विषय ‘आरोप’ भएको बताउँदै ओलीले त्यसको प्रतिवादका लागि लिखित प्रतिवेदन ल्याउन १० दिनको समय माग गरेअनुसार आजको बैठक सम्पन्न भएको हो ।

सचिवालयको पूर्ण बैठकमा ओलीले प्रस्तुत गरेको प्रतिवेदन आफ्नो र सरकारको बचाउमा केन्द्रित रहेको बैठकमा सहभागी एक नेताले बताए । ओलीको प्रतिवेदनमा पार्टी एकताको समीक्षाका साथै सरकारले गरेका काम र उपलब्धिको चर्चा गरिएको छ । यसका साथै उनले अर्का अध्यक्ष प्रचण्डमाथि समेत गुटबन्दी गरेका आरोप लगाएका छन् ।

नेकपामा दुईजना अध्यक्षले एक–अर्कालाई आरोप–प्रत्यारोप गर्दै लिखित प्रतिवेदन पेस गरेपछि स्पष्ट रूपमा दुईलाइनको संघर्ष सुरु भएको छ । सचिवालय बैठकका नौजनामध्ये पाँचजना स्पष्ट रूपमा प्रचण्डको प्रतिवेदनको पक्षमा देखिएका छन् ।

सचिवालयमा ओलीको प्रतिवेदन स्वतः अल्पमतमा परेको अवस्थामा स्थायी कमिटीमा दुवै प्रतिवेदन प्रस्तुत हुनेछन् । यसअघि नै नेकपाले आगामी १८ गते स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरिसकेको छ ।

अबको स्थायी समितिमा दुवै अध्यक्ष प्रतिवेदन छलफलका लागि प्रस्तुत भएपछि तिनीहरूरुलाई संश्लेषण गरेर एकल प्रस्ताव केन्द्रीय समितिमा लैजाने या केन्द्रीय समितिमा पनि दुई बेग्लाबेग्लै प्रस्ताव लैजाने विकल्प खुला रहनेछ ।

अध्यक्ष ओली पक्षधर भने संख्यात्मक रूपमा अल्पमतमा परिने भएकोले दुवै प्रस्ताव फिर्ता गर्ने र साझा प्रस्ताव तयार गर्नुपर्ने मतमा रहेका छन् । आजको बैठकमा अध्यक्ष ओलीले पेस गरेको प्रतिवेदनका आधारमा प्रचण्ड समूहले आगामी रणनीति बनाउने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्