
काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकामाथि शानदार जित निकाल्दै सिरिजको सुखद अन्त्य गरेको छ ।
शुक्रबार घरेलु मैदानमा भएको सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकामाथि १ सय २२ रनको शानदार जित निकालेको हो । अमेरिकालाई पहिलो खेलमा ९ विकेटले हराएको थियो । नेपाल सिरिजको पहिलो खेलमा स्कल्यान्डसँग डीएल मेथडमा २ रनले पराजित भएको थियो । दोस्रो खेलमा स्कटल्यान्डलाई ६ विकेटले हराएको थियो ।
योसँगै नेपालले यो सिरिजबाट ६ अंक जोडेको छ । जितसँगै नेपाल २४ अंकमा पाचौँ स्थानमा यथावत छ । नेपालले लिग २ का २८ खेलमध्ये ११ खेलमा जित, १५ खेलमा हार र २ खेलमा अंक बाँड्दै २४ अंक बनाएको हो ।
नेपालले अब लिग २ मा ८ खेल खेल्न बाँकी छ । ति सबै खेल नेपालले विदेशी भुमिमा खेल्नेछ । घरेलु टोली नेपालले दिएको ३ सय १८ रनको विशाल लक्ष्य पछ्याएको अमेरिका ४१.२ ओभरमा १ सय ९५रन बनाउँदा अलआउट भयो।
अमेरिकालाई कम स्कोरमा सन्दीप लामिछानेले ३ विकेट लिए । ललित राजवंशी, दीपेन्द्र सिंह ऐरि र गुल्सन झाले समान २ विकेट लिए। सोमपाल कामीको नाममा समान एक विकेट रह्यो । अमेरिकाका लागि सञ्जय कृष्णमुर्तीले बनाएको ५६ रन नै सर्वाधिक रह्यो। उनले ४४ बलमा ४ चौका र ४ छक्का हाने ।
नोस्तुज केन्जिेकेले २९ र सयान जहानगिरले २७ रन थपे। सेहान जयासुरियाले २६ तथा कप्तान साइतेजा मुक्कमल्लाले २२ रन बनाए। मिलिन्द कुमारले १२ रन थप्दै आउट भए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय १७ रनको विशाल योगफल तयार पारेको थियो ।
टीयू मैदानमा बनाएको नेपालले बनाएको यो अहिलेसम्मको सर्वाधिक योगफल हो । यसअघि नेपालले २०२३ मा घरेलु मैदानमा ओमानविरुद्ध ३ सय १० रन बनाएको थियो । ओडीआईमा नेपालले स्कटल्यान्डविरुद्ध ३ सय २१ रनको विशाल योगफल बनाएको थियो । ओडीआईमा नेपालले बनाएको यो नै सर्वाधिक विशाल योगफल हो ।














