Logo
Logo

काभा महिला भलिबल: माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा


0
Shares

काठमाडौं । नेपाली टोली काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। आज त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउँदै नेपाल समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने पक्का भएको हो। लगातार दोस्रो जितसँगै ७ अंक जोडेर नेपाल शीर्ष स्थानमा रहेको छ। समूहमा दोस्रो स्थानको भारतको ५ र कीर्गिस्तानको ३ अंक छ भने माल्दिभ्स अंकविहीन बन्दै समूह चरणबाटै बाहिरिएको छ।

मुख्य प्रशिक्षक जगदीश भट्टले आजको खेलमा केही नयाँ खेलाडीलाई अवसर दिँदै नियमित खेलाडीहरू सलिना श्रेष्ठ, रुमा कुँवर र मुना सुनारको स्थानमा निरुता ठगुन्ना, रिमा कुँवर र लिबेरो शान्ति तामाङलाई सुरुवाती सेटमै मैदान उतारेका थिए। सुरुमा १०-८ को प्रतिस्पर्धात्मक स्थिति रहेको खेलमा उषा भण्डारीले उत्कृष्ट सर्भिस गर्दै लगातार ६ अंक जोडेपछि नेपालले १४-८ को बलियो अग्रता बनायो। यसपछि सुनिता खत्रीले पनि सर्भिसमार्फत लगातार ७ अंक थपेपछि नेपालले पहिलो सेट २५-१२ ले सहजै आफ्नो पक्षमा पार्यो।

दोस्रो सेटमा पनि प्रशिक्षक भट्टले खेलाडीहरूलाई परिवर्तन (रोटेट) गरिरहे, जहाँ माल्दिभ्सले खेलको कुनै पनि समयमा नेपाललाई चुनौती दिन सकेन। सुरुवातमा नै रिमाको सर्भिसमा लगातार ७ अंक जोड्दै नेपालले १०-३ को सहज अग्रता बनाएको थियो। निरन्तर अंक बटुल्दै २४-९ को फराकिलो अन्तरमा पुगेको नेपालका लागि निरुताको सर्भिसमा माल्दिभ्सको सट बाहिरिएपछि दोस्रो सेट २५-९ ले नेपालको पक्षमा आयो।

तेस्रो सेटमा माल्दिभ्सले केही सुधारिएको प्रदर्शन गरे पनि नेपालले खेललाई दबाबमुक्त राख्दै २५-२० ले आफ्नो पक्षमा पार्यो। यस सोझो सेटको जितसँगै थप ३ अंक जोड्दै नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। आजको खेलमा नेपाली टोलीकी कप्तान निरुता ठगुन्ना ‘प्लेयर अफ दि म्याच’ घोषित भइन्। खेलमा टोलीका १४ मध्ये १३ खेलाडीले मैदान उत्रिने मौका पाएका थिए भने नियमित लिबेरोलाई विश्राम दिइएको थियो।

समूह ‘ए’ मा रहेको नेपालले समूह चरणका तीन खेलमध्ये दुईमा जित र एकमा हार ब्यहोर्दै कुल ७ अंक बनाएको हो। यसअघि नेपाल भारतसँग ३–२ ले पराजित भएको थियो भने किर्गिस्तानलाई सोझो सेटमा हराएको थियो। अब भोलि हुने किर्गिस्तान र भारतबीचको खेलले यो समूहबाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको टुंगो लगाउनेछ। भारतलाई सेमिफाइनल पुग्न जित मात्र पर्याप्त छ भने किर्गिस्तानलाई सोझो सेटको जित आवश्यक पर्नेछ।

आजै भएको अर्को खेलमा इरानले श्रीलंकालाई सोझो सेटमा हराएको छ। नेपालले अब आगामी शुक्रबार सेमिफाइनलमा समूह ‘बी’ का बलिया टोलीहरू इरान वा काजखस्तानमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्