Logo
Logo

एसएसपीको सरुवा तयारी, काठमाडौंका लागि तीव्र प्रतिस्पर्धा


4.3k
Shares

काठमाडौं । प्रहरी प्रधानकार्यालयले एसएपीहरुको सरुवालाई प्राथमिकतामा राखेको छ । एसएसपीहरुले कमाण्ड गर्ने कार्यालयहरुका प्रमुखहरुको अवधि पुगेका कारण सरुवाको तयारी थालिएको हो । एकसाता अघि मात्रै एसपी र डिएसपीहरुको सरुवा गरेको प्रहरी प्रधानकार्यालयले एसएसपीहरुको सरुवा गर्ने अन्तिम तयारी गरेको छ ।

प्रहरी प्रधानकार्यालय स्रोतका अनुसार त्यसका लागि गृहसचिवसँग अनुमति लिइसकेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरसहित उपत्यकाका ट्राफिक कार्यालय तथा केही प्रहरी तालिम केन्द्रमा एसएसपीहरूको सरुवाका लागि गृहकार्य भैरहेको छ ।

काठमाडौं परिसरका प्रमुख एसएसपी रमेश थापा, ललितपुर परिसरका प्रमुख एसएसपी होविन्द्र बोगटी तथा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारी, लागुऔषधि नियन्त्रण व्यूरोका प्रमुख कृष्णप्रसाद कोइराला, मानववेचविखन नियन्त्रण व्यूरकोका प्रमुख कृष्ण पंज्ञेनी, सहित केही तालिम केन्द्रका प्रमुखहरूको समेत सरुवा हुन लागेको स्रोतले बताएको छ ।

गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’पछि असोजको पहिलो साता काठमाडौं र ललितपुरका प्रहरी प्रमुख परिवर्तन गरिएको थियो । त्यसबेला आन्दोलनका क्रममा जेलमा आगजनी, तोडफोड तथा कैदीबन्दी भाग्ने घटनापछि राजधानीको सुरक्षा अवस्था नियन्त्रणमा ल्याउने जिम्मेवारी एसएसपी रमेश थापा र होविन्द्र बोगटीलाई दिइएको थियो ।

उनीहरुको सरुवा भएको आठ महिना पूरा भइसकेको छ । त्यसक्रममा फरार कैदीहरुको पक्राउ भएपनि अहिले पनि ४ हजार कैदीहरु बाहिर रहेका छन् ।

सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले जेनजी बिध्वंशका क्रममा भागेका साढे १४ हजार कैदीबन्दीमध्ये अझै करिब ४ हजार फरार रहेको जानकारी दिएका थिए । तीमध्ये कतिपय जघन्य अपराधमा संलग्न रहेको प्रहरी स्रोतको दाबी छ । यसले राजधानीको शान्ति सुरक्षा र नागरिक सुरक्षामाथि गम्भीर चुनौती खडा गरेको भन्दै सरकारमाथि दबाब बढिरहेको बेला उनीहरुको सरुवा गराउन लागिएको हो ।

यद्यपि, काठमाडौं परिसरमा जो आएपनि फरार कैदी पक्राउ भन्दा पनि काठमाडौभरको सुरक्षा अवस्थालाई सुदृढ पार्ने दायित्व रहने गर्छ । ठूलो संख्यामा फरार अपराधी खुला रूपमा बाहिर रहनु राज्यको सुरक्षा संयन्त्रकै कमजोर पक्षको संकेत भएपनि धेरैजसो भारतीय कैदीहरु फरार रहेका छन् ।

विशेषगरी हत्या, संगठित अपराध, लागूऔषध कारोबार, जबर्जस्ती करणी, अपहरण तथा अन्तरदेशीय अपराधमा संलग्न व्यक्तिहरू अझै फरार रहनुले पुनः ठूला आपराधिक घटना हुन सक्ने जोखिम बढाएको छ ।

गृहमन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री वालेन्द्र शाह निकट सल्लाहकार टोली उपत्यकाको सुरक्षा नेतृत्व तत्काल फेरबदल गर्नुपर्ने पक्षमा रहेको स्रोत बताउँछ । उनीहरूले फरार अपराधी नियन्त्रण, हिरासत व्यवस्थापन, अनुसन्धान क्षमता तथा सार्वजनिक सुरक्षा प्रभावकारी बनाउन नयाँ नेतृत्व आवश्यक रहेको निष्कर्ष निकालेको बताइन्छ ।

तर प्रहरी महानिरीक्षक दानबहादुर कार्की भने कम्तीमा एक वर्ष कार्यकाल पूरा गर्न दिनुपर्ने पक्षमा रहेपनि प्रधानमन्त्रीको टिमले केही हप्तामै फेरबदल गर्न दबाब दिइरहेको छ । बारम्बार नेतृत्व परिवर्तन गर्दा कार्यसम्पादनमा असर पर्ने र संगठनभित्र अस्थिरता बढ्ने तर्क आईजीपी कार्कीले गरिरहेका छन् ।

ललितपुरमा ल्यापटप काण्ड
विशेषगरी व्यवसायी सुलभ अग्रवाललाई हिरासतभित्र ल्यापटप उपलब्ध गराइएको घटनाले ललितपुर परिसरलाई थप विवादमा तानेको छ । उक्त घटनाको छानबिनका लागि समिति नै गठन भइसकेको छ । अग्रवालको ल्यापटप सीआईबीले नियन्त्रणमा लिएको छ भने घटनाको अनुसन्धानको जिम्मेवारी काठमाडौं परिसरलाई दिइएको छ । यही घटनापछि ललितपुरका एसएसपी होविन्द्र बोगटीको सरुवा लगभग निश्चितजस्तै मानिएको छ ।

काठमाडौँ ताक्दै एसएसपीहरु
एसएसपी सरुवाको चर्चा चुलिँदै जाँदा जिल्ला प्रहरी परिसर काठमाडौंको नेतृत्व लिन विभिन्न प्रहरी अधिकारीहरूबीच तीव्र प्रतिस्पर्धा सुरु भएको छ । काठमाडौं परिसरको प्रमुख बन्न एसएसपी अजय केसी, दयानिधि ज्ञवाली, शिवकुमार श्रेष्ठ, सुरेश काफ्ले र दिलीप घिमिरे सक्रिय भएका छन् । तीमध्ये केहीलाई ललितपुर परिसर, उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा प्रहरी तालिम केन्द्रहरूमा पठाउने सम्भावना रहेको बताइएको छ ।

स्रोतका अनुसार काठमाडौं र ललितपुरको नेतृत्व चयनमा प्रधानमन्त्री निकट सल्लाहकार समूहको प्रभाव निर्णायक बन्न सक्ने देखिएको छ । यसैबीच, आईजीपी कार्की विभिन्न कार्यक्रम तथा समितिका बैठकमा व्यस्त रहेका बेला सीआईबी प्रमुख एआईजी डा. मनोजकुमार केसीले शिवकुमार श्रेष्ठलाई काठमाडौं परिसरको नेतृत्वमा दबाब दिएको स्रोतको दावी छ ।

यद्यपि, उनको पठाउने सम्भावना भने कमजोर देखिएकाले ज्ञवाली र घिमिरे मध्ये एकले बाजी मार्ने दाबी गरिएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा समेत नेतृत्व परिवर्तनको तयारी भइरहेका बेला ट्राफिक व्यवस्थापन, सडक अनुशासन, दुर्घटना नियन्त्रण तथा डिजिटल ट्राफिक निगरानी प्रणालीलाई प्रभावकारी बनाउन सक्ने अधिकारी खोज्ने प्रयास भइरहेको बताइएको छ ।

हालका उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीको कार्यकाललाई भने ट्राफिक व्यवस्थापन सुधार, सडक अनुशासन कायम तथा प्रविधिमैत्री निगरानी प्रणाली विस्तारका हिसाबले उत्कृष्ट कार्यकालका रूपमा मूल्यांकन गरिएको र त्यहाँ अजय केसीलाई पठाउने तयारी गरिएको छ ।

यसैबीच, प्रहरी संगठनभित्र अर्को ठूलो चासोको विषय प्रहरी निरीक्षकहरूको सरुवा पनि बनेको छ । सामान्यतया एक वर्षमा नियमित सरुवा हुनुपर्ने प्रावधान रहे पनि धेरै प्रहरी निरीक्षकहरूले १३ महिना पुग्दासमेत सरुवा पाउन सकेका छैनन् । लामो समयदेखि निरीक्षक तहको सरुवा रोकिँदा संगठनभित्र असन्तुष्टि बढ्दै गएको बताइन्छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार ठूलो संख्यामा प्रहरी निरीक्षकहरूको सरुवा सूची अन्तिम चरणमा पुगेको छ । जिल्लादेखि उपत्यका तथा विशेष ब्यूरोसम्म व्यापक हेरफेरको तयारी भइरहेको बुझिएको छ । निरीक्षक तहमा सरुवा रोकिँदा वृत्ति विकास, कार्यसम्पादन मूल्यांकन तथा संगठनभित्रको कमाण्ड संरचनामा समेत असर परेको अधिकारीहरू बताउँछन् ।


यसअघि केही दिनअघि मात्र जिल्लाका प्रहरी प्रमुख (एसपी) तथा इलाका प्रमुखका रूपमा कार्यरत डिएसपीहरूको सरुवा सूची सार्वजनिक भएको थियो । त्यसपछि अब एसएसपी र प्रहरी निरीक्षकहरूको सरुवातर्फ संगठनको ध्यान केन्द्रित भएको छ ।

प्रतिक्रिया दिनुहोस्