Logo
Logo

वरिष्ठ उपाध्यक्षमै भाले भीडन्त


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ साधारणसभाले वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाललाई निर्वाचित गरेको छ । ढकाल यस अगाडि अध्यक्ष शेखर गोल्छा समूहबाट उपाध्यक्ष पदमा निर्विरोध भएका थिए । त्यतिबेला वरिष्ठ उपाध्यक्षमा गोल्छासँग पराजित किशोर प्रधान अहिले ढकालसँग पराजित हुनुप¥यो । यद्यपि, गोल्छा र भवानी राणाको समर्थन भने प्रधानलाई थियो । यस्तो स्थिति आउनुको पछाडि महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालको मुख्य भूमिका रहेको छ । निवर्तमान अध्यक्ष भएर पनि ढकालले महासंघको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्दै आएको कारण महासंघमा अस्वस्थ प्रतिस्पर्धा सुरु भएको हो । र, त्यसको प्रत्यक्ष अप्रत्यक्ष फाइदा पूर्वअध्यक्ष ढकालले उठाउँदै आएको आरोप छ । वरिष्ठ उपाध्यक्षलाई नै अध्यक्ष बनाउने विधानको मर्म भनेकै निर्विरोध निर्वाचनको परिकल्पना हो । त्यही कुरा विचार गरेर विगतमा वरिष्ठ उपाध्यक्षलाई नै अध्यक्ष बनाउने भनिएको हो । तर, वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धाले महासंघभित्र पुरानै रोग बल्झियो । र, वरिष्ठ उपाध्यक्षका लागि भाले भीडन्त सुरु भयो ।

उद्योगी व्यवसायीहरुको छाता संगठनमा जहिले पनि अध्यक्ष पदका लागि अस्वस्थ प्रतिस्पर्धा हुने गरेको थियो । त्यसले महासंघकै प्रतिष्ठामाथि आँच पु¥याउने भएकोले महासंघलाइ गुट, उपगुटबाट मुक्त गर्न वरिष्ठ उपाध्यक्षलाई नै अध्यक्ष बनाउन विधान संशोधन गरिएको हो । विधान संशोधनपछि भवानी राणा वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष बनिन् । त्यसपछि पुनः अध्यक्ष पदका लागि प्रत्यक्ष निर्वाचन गरिने भनेर विधान संशोधनको ‘फण्डा’ निर्वतमान अध्यक्ष ढकालले झिके । विधान संशोधन भएर वरिष्ठ उपाध्यक्षलाई अध्यक्ष बनाउने परम्परा शुरु भएको एक कार्यकालपछि अर्को कार्यकालका लागि विधान संशोधन गरिने कुरा त्यति व्यवहारिक भएन र त्यसको महासंघमा व्यापक विरोध पनि भयो ।

खासगरी वरिष्ठ उपाध्यक्ष गोल्छालाई अध्यक्ष बन्न नदिन चण्डीराज ढकालले यो षड्यन्त्र गरेका थिए । पूर्वअध्यक्ष ढकाल स्वयं विधान संशोधन कमिटीका संयोजक थिए । उनको अनावश्यक चलखेल रोक्नका लागि नै गोल्छाले आफैसँग पराजित प्रधानलाई वरिष्ठ उपाध्यक्षमा समर्थन गर्न बाध्य भए । यदि चण्डीराज ढकालले गोल्छाविरुद्ध षड्यन्त्र नगरेको भए गोल्छाले चन्द्र ढकाललाई समर्थन गर्न बाध्य हुने थिए । किनभने, गत साधारणसभामा गोल्छा र ढकाल एउटै टिममा थिए । बीचमा चण्डी ढकालले खेल नखेलेको भए किशोर प्रधान र चन्द्र ढकालबीच सहमति पनि हुन सक्थ्यो । तर, चण्डी ढकालले यी दुईलाई मिल्न दिएनन् र भीडन्तको स्थिति निम्त्याए । उनको यस्तो फोहरी खेलविरुद्ध भवानी राणा, पशुपति मुरारकालगायत सम्पूर्ण पूर्वअध्यक्षले प्रधानलाई नैतिक समर्थन जनाए । त्यसो त सुरुमा प्रधानलाई वरिष्ठ उपाध्यक्ष बनाउने भनेर उचाल्ने पनि चण्डीराज ढकाल नै हुन् । उनैले वरिष्ठ उपाध्यक्षमा हारेका प्रधानलाई फेरि जिल्ला, नगर उपाध्यक्ष बनाए ।

महासंघमा लामो अनुभव सँगालेका प्रधानलाई अब नयाँ नेतृत्वले सम्मानजनक स्थान दिनुपर्छ भन्ने आवाज पनि उठिरहेको छ । यसै परिप्रेक्ष्यमा नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको भूमिका महत्वपूर्ण देखिएको छ । विगतको टिमसँग मिलेर जाने हो भने मात्र वरिष्ठ उपाध्यक्ष ढकाल महासंघको राजनीतिमा सफल हुनेछन् । अन्यथा, उनको पतनको यात्रा शुरु हुनेछ । त्यसका लागि पूर्वअध्यक्ष चण्डीराज ढकाललाई भूमिकाविहीन बनाइनुपर्छ । र, शेखर गोल्छा, चन्द्र ढकालको टिम मिलेर महासंघलाई अगाडि बढाइनुपर्छ । अधिकांश पूर्वअध्यक्षहरुले विशिष्ट सल्लाहकार बनाउनुपर्ने सुझाव दिएका छन् ।

ढकालको प्रतिबद्धता

सबैसँग मिल्न सक्ने खुबी भएका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले उद्योगमैत्री देशका रुपमा नेपाललाई अगाडि बढाउन चाहेका छन् । ‘सुखी नेपाली, समृद्ध नेपाल’को सपना पूरा गर्न पनि लगानीमैत्री वातावरण पहिलो शर्त हो । अहिले विदेशी लगानी नआउनुको कारण पनि यहाँको कानून, ऐन, नियम र कर्मचारीहरुको भ्रष्ट मनोवृत्ति जिम्मेवार भएकोले ढकालले यी सबै कुराहरुमाथि सरकारको ध्यानाकर्षण गर्ने बताएका छन् ।

कोभिड–१९ ले निम्त्याएको चुनौतीका बीच नेपालको अर्थतन्त्रलाइ उकास्न सरकारले विशेष प्याकेजको व्यवस्था गर्नुपर्ने, जिल्लातिरका उद्योगलाई विशेष संरक्षण दिनुपर्ने र युवाहरुलाई स्वदेशमा रोजगारीको अवसर प्रदान गर्ने कुरालाई ढकालले प्राथमिकतामा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्