काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा नेता झलनाथ खनालले प्रधानमन्त्री बालेन शाहको ‘नेपालले भारतको जग्गा मिचेको’ भन्ने अभिव्यक्तिलाई गलत, खतरनाक र राष्ट्रविरोधी बताएका छन् ।

खनालले फेसबुकमा लेख्दै भनेका छन्, ‘यो अत्यन्त गम्भीर, दुःखद् र राष्ट्रविरोधी अभिव्यक्ति हो ।’ उनले बालेनलाई प्रधानमन्त्रीको कुर्सीमा बस्न नसुहाउने टिप्पणी गर्दै तत्काल माफी माग्नुपर्ने माग गरेका छन् ।
‘हामी नेपाली युगौँदेखि विदेशी अतिक्रमणविरुद्ध लड्दै आएका छौँ । यस्ता अभिव्यक्तिले देशभक्त जनताको भावनामाथि कुठाराघात गर्छ,’ खनालले भनेका छन् । उनले उक्त अभिव्यक्ति प्रमाणसहित दिनुपर्ने माग गर्दै संसद्को रेकर्डबाट हटाउन सभामुखलाई आग्रह गरेका छन् ।
साथै उनले देशभक्त जनता तथा शक्तिहरूलाई विरोध गर्न आह्वान गरेका छन् । आइतबार प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको केही जग्गा मिचेको दाबी गरेका थिए । उक्त विवादित अभिव्यक्तिपछि उनको चौतर्फी आलोचना भइरहेको छ ।














