Logo
Logo

ओली–प्रचण्ड चर्काचर्की, सीमा र मर्यादामा रहनुपर्छः ओली, कसैको रुलिङ चल्दैनः प्रचण्ड


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ मंसिर ।
नेकपा सचिवालय बैठकमा अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचमा चर्काचर्की भएको छ । । ओलीले प्रचण्डको राजनीतिक प्रतिवेदन नभई आरोप भएकाले छलफल हुन नसक्ने बताएपछि प्रचण्डले प्रतिवाद गर्दा दुई नेताबीच चर्काचर्की भएको हो ।


बैठकमा ओलीले प्रचण्डको प्रस्तावलाई आरोपपत्र मात्र भएको भन्दै छलफल हुन सक्दैन, फिर्ता हुनुपर्छ भनेपछि विवाद भएको थियो । प्रचण्डले तपाईं को हो, मैले ल्याएको प्रस्ताव फिर्ता हुनुपर्छ, छलफल हुँदैन भन्ने ? भन्दै प्रतिवाद गरेका थिए ।

त्यसपछि ओलीले सीमा र मर्यादामा रहन भन्दै रुलिङ गर्न प्रयास गरेपछि प्रचण्डले यहाँ कसैले कसैलाई रुलिङ गर्न मिल्दैन, कमिटीमा सबैको हैसियत बराबर हो । कमिटीले जे भन्छ त्यसैगरी अगाडि बढ्छ । साथीहरू के भन्नुहुन्छ यसमा ? भन्दै प्रश्न गरेपछि बैठकमा दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल गर्नुपर्ने मत अन्य नेताहरुले राखेका थिए । त्यसपछि ओली नैतिक संकटमा परे ।

ती सदस्यका अनुसार दाहाल बोल्दाबोल्दै ओली आक्रोशित हुँदै बीचमा बोलेका थिए, ‘जे मन लाग्यो त्यही बोल्न पाइन्छ ?’ त्यसपछि अरु नेताहरू पनि ओली र दाहालबीचको भनाभनमा प्रवेश गरेका थिए । केहीबेर बैठकको वातवरण नै तनावपूर्ण बनेको थियो ।

ओलीले दाहाललाई बोल्न रोकेपछि सचिवालयका अन्य सदस्यले प्रतिवाद गरेका थिए । सुरुमा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिवाद गरेको सचिवालयका ती सदस्यले बताए । ‘तपाईंले बोलको हामी सबैले सुन्यौं । अर्को अध्यक्षले बोलेको सुन्न पर्दैन ? सबैलाई बोल्ने अधिकार छ । बोल्नै नदिने ? यो हुँदैन ।’

ती सदस्यका अनुसार त्यसपछि वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिवाद गरेका थिए । ‘के हो यो ? बोल्न नदिने कुरा हुुन्छ ? सबैले कुरा राख्न पाउनु पर्छ,’ नेपालले भनेका थिए । त्यसपछि अर्का वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतमले पनि सबैले बोल्न पाउनुपर्छ भन्दै प्रतिवाद गरेका थिए ।

त्यसपछि फेरि अध्यक्ष दाहालले बोल्न सुरु गरेको ती सदस्यले बताए । उनकाअनुसार दाहालले भनेका थिए, ‘बोल्न नदिनेमात्रै कुरा होइन, उहाँले यो प्रस्ताव यहाँ छलफल हुनै सक्दैन भन्नु भएको छ । साथीहरुको धारणा के हो राख्नु पर्‍यो ।’

त्यसपछि नेता नेपालले भनेका थिए, ‘किन नसक्नु ? सकिन्छ । यसैमा छलफल गरौं ।’ गौतमले दाहालको प्रस्तावमाथि छलफल सुरु भइसकेको बताएका थिए ।

‘कमरेड केपीले त्यसको छलफलमा भाग लिइसक्नु भएको छ । छलफल गर्न पाईदैन भन्ने कहाँ को कुरा हो ? छलफल गरौं,’ गौतमले भनेका थिए ।

ती सदस्यका अनुसार ईश्वर पोखरेलले एजेण्डाकै विषयमा बैठकमा भनेका थिए, ‘प्रस्तावमाथि छलफल हुनै पाउँदैन भन्ने भएन कम्युनिष्ट पार्टीमा । तर, यसरी प्रस्ताव प्रस्तुत नगरेको भए हुन्थ्यो । अब आरोप-प्रत्यारोप नगरिकन दुवै अध्यक्षहरु प्रस्तुत हुनुपर्छ ।’ अर्का सदस्य रामबहादुर थापाले प्रस्तावमाथि छलफल भइनैसकेको धारणा राखेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा अध्यक्ष ओली र दाहालले आ–आफ्नो धारणा राखेको र अन्य सदस्यहरूले छोटो रूपमा सामान्य धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । बैठक बुधबार दिउँसो १ बजे बस्नेछ । आफ्नो प्रस्ताव अस्वीकृत हुने देखेपछि विवादलाई सेफल्यान्डिङ गराउनतर्फ ओली लागेका छन् । प्रचण्ड पक्ष भने ओलीलाई प्रधानमन्त्रीबाट राजिनामा गराउने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्