Logo
Logo

साफ महिला च्याम्पियनसिप: बंगलादेशसँग पराजित हुँदै नेपाल सेमिफाइनलबाटै बाहिरियो


630
Shares

काठमाडौं । साविक विजेता बंगलादेशसँग पराजित हुँदै नेपाली राष्ट्रिय महिला फुटबल टोली साफ महिला च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ। भारतको गोवास्थित जवाहरलाल नेहरू स्टेडियममा सम्पन्न सेमिफाइनल खेलमा नेपाल बंगलादेशसँग २–१ गोल अन्तरले पराजित भएको हो। अघिल्ला दुई संस्करणको फाइनलमा बंगलादेशसँगै पराजित भएको नेपाली टोली यसपटक भने सेमिफाइनलमै रोकिन पुग्यो।

यसअघि सन् २०१६ मा भारतमा भएको चौथो संस्करणमा नेपाल सेमिफाइनलमा भारतसँग ३–१ गोल अन्तरले पराजित हुँदै बाहिरिएको थियो। त्यसको १० वर्षपछि नेपाली टोली पुनः सेमिफाइनलबाटै बाहिरिएको हो। साफ च्याम्पियनसिपको इतिहासमा नेपालले कुल ६ पटक फाइनल खेलेको छ र छैटौँ पटक नै उपविजेतामा चित्त बुझाएको छ।

बंगलादेशविरुद्धको खेलमा सुरुवाती अग्रता बनाए पनि नेपाली टोलीले त्यसलाई जोगाउन सकेन। नेपाललाई पाखा लगाउँदै बंगलादेश भने लगातार तेस्रो पटक प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो भने दोस्रो हाफको अन्तिम समयमा बंगलादेशले निर्णायक गोल थपेको हो।

खेलको २३औँ मिनेटमा डिफेन्डर गीता रानाको गोलमार्फत नेपालले सुरुवाती अग्रता लिएको थियो। दिपा शाहीको कर्नर पासमा गीताले उत्कृष्ट प्रहार गर्दै बललाई पोस्टको जाली चुमाएकी थिइन्। त्यसपछि खेलको ४२औँ मिनेटमा दिपाकै कर्नरमा रेखा पौडेलले ‘सिक्स यार्ड’बाट गरेको हेडर प्रहार बंगलादेशी गोलरक्षकले सहजै नियन्त्रणमा लिइन्।

पहिलो हाफको अन्तिम मिनेटमा मारिया मन्डाको फ्री-किक प्रहार नेपाली डिफेन्डरले क्लियर गरे पनि बंगलादेशले कर्नर प्राप्त गर्‍यो। पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा रितु पूर्णा चक्माको कर्नर प्रहार सिधै गोलमा परिणत भएपछि बंगलादेश खेलमा फर्किएको थियो। लगत्तै रितु पूर्णाको अर्को प्रहारलाई नेपाली गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाले उत्कृष्ट बचाउ गरिन्।

दोस्रो हाफको ५५औँ मिनेटमा बंगलादेशकी सामसुनारको प्रहार क्रसबारमा लागेर बाहिरिँदा बंगलादेशले अग्रता दोब्बर पार्ने मौका गुमाएको थियो। खेलको ५९औँ मिनेटमा नेपालकी प्रिती राईको फितलो प्रहार सिधै गोलरक्षकको हातमा पुग्यो। ६९औँ मिनेटमा सरु लिम्बूले डिबक्स नजिकैबाट गरेको सशक्त प्रहार क्रसबारभन्दा थोरै माथिबाट बाहिरिँदा नेपालले पुनः अग्रता लिने सुनौलो मौका गुमायो।

खेलको इन्ज्युरी समयमा सागोरिकाले गोल गर्दै बंगलादेशलाई २–१ को निर्णायक अग्रता दिलाइन्। त्यसपछि खेलमा फर्कन नेपालले बाँकी समयमा गोल गर्न सकेन र प्रतियोगिताको सेमिफाइनलबाटै घर फर्कन बाध्य भयो।

प्रतिक्रिया दिनुहोस्