Logo
Logo

बीवाईडी गाडी आयात विवादः साइमेक्स इंकद्वारा भन्सार विवरण सार्वजनिक, आरोपहरू पूर्णतः अस्वीकार


2.2k
Shares

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि ठूलो संख्यामा विद्युतीय सवारीसाधन भित्र्याएको भनी भइरहेको चर्चाप्रति नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

The current image has no alternative text. The file name is: arrested.jpg

सञ्चारमाध्यम र सार्वजनिक वृत्तमा उठेका चासोहरूका बारेमा तथ्यगत स्पष्टीकरण दिँदै कम्पनीले सम्पूर्ण आयात प्रक्रिया प्रचलित कानुन, भन्सारसम्बन्धी नियमावली तथा स्थापित प्रक्रियाअनुसार पूर्ण रूपमा पारदर्शी र वैधानिक रहेको दाबी गरेको छ। कर परिवर्तनबाट बच्न सरकारी निकायसँग समन्वय गरी अनुचित लाभ लिएको भन्ने आरोप पूर्णतः निराधार, असत्य र कम्पनीको प्रतिष्ठामा आघात पुर्‍याउने खालको रहेको साइमेक्सको भनाइ छ।

कम्पनीले पारदर्शिता र नैतिक व्यावसायिक अभ्यासप्रतिको प्रतिबद्धता स्वरूप चीनतर्फको निर्यात घोषणा र नेपालतर्फको भन्सार जाँचपासको आधिकारिक तथ्यांक समेत सार्वजनिक गरेको छ। प्राप्त विवरण अनुसार बजेटअघिको अवधिमा मुस्ताङको कोराला र रसुवा भन्सार हुँदै कुल १,१२१ वटा सवारीसाधन नेपाल भित्रिएका छन्।

कोराला भन्सारबाट मे २२ देखि २७ को बीचमा चीनतर्फबाट निकासी भएका ६४९ वटा एट्टो १ र एट्टो २ गाडीहरू मे २६ र २७ तारिखमा नेपालतर्फ भन्सार जाँचपास भएका हुन्। त्यस्तै, रसुवा भन्सारबाट मे ६ देखि २५ को बीचमा चीनबाट निकासी भएका ४७२ वटा एट्टो १, एट्टो २, एट्टो ३ र सीलियन ७ गाडीहरू मे १८ देखि २७ को बीचमा नेपाल भन्सारबाट जाँचपास भएका छन्। यसका अतिरिक्त थप २२६ वटा सवारीसाधन चीनतर्फको भन्सार क्षेत्रमा आइपुगेको भए पनि तिनको भन्सार जाँचपास प्रक्रिया अझै सम्पन्न हुन बाँकी रहेको कम्पनीले जनाएको छ।

साइमेक्स इंकले आफूले कुनै पनि चरणमा विशेष सुविधा, प्राथमिकता प्राप्त प्रक्रिया वा अनधिकृत भन्सार व्यवस्थाबाट लाभ नलिएको र त्यस्तो कुनै व्यवस्थाका लागि अनुरोध समेत नगरेको स्पष्ट पारेको छ। ग्राहकहरूबाट पहिले नै बुकिङ सुनिश्चित भइसकेका कारण ती बुकिङ पूरा गर्न र बजारको बढ्दो माग सम्बोधन गर्न गाडीहरू आयात गरिएको कम्पनीको दाबी छ। यी सम्पूर्ण आयात कार्यहरू बीवाईडीको उत्पादन तालिका, ढुवानी उपलब्धता, नियमित व्यावसायिक योजना तथा यातायात र ढुवानी व्यवस्थापनसम्बन्धी चुनौतीहरूलाई ध्यानमा राखेर नियमित रूपमा सम्पन्न गरिएको कम्पनीले जनाएको छ।

विज्ञप्तिमा उल्लेख भए अनुसार कम्पनीले सत्यतथ्य स्थापित गर्नका लागि कुनै पनि वैधानिक अनुसन्धान वा छानबिनलाई खुला रूपमा स्वागत गर्ने घोषणा गरेको छ। अनुसन्धानका लागि आवश्यक पर्ने आयात सम्बन्धी रेकर्ड, भन्सार घोषणा विवरण, ढुवानी अभिलेख, सीमा प्रवेशका कागजात, भुक्तानी विवरण तथा जाँचपास स्वीकृतिका सबै दस्तावेजहरू सम्बन्धित निकायलाई उपलब्ध गराउन आफू पूर्ण रूपमा तयार रहेको कम्पनीले स्पष्ट पारेको छ। सरकारी निकायहरूद्वारा भइरहेको अध्ययन तथा समीक्षा प्रक्रियाले यस विषयमा स्पष्टता ल्याउने र हाल सार्वजनिक रूपमा फैलाइएका भ्रम तथा गलत सूचनाहरूको अन्त्य गर्नेमा कम्पनीले विश्वास व्यक्त गरेको छ।

आधिकारिक अभिलेख र तथ्य पुष्टि नगरी निष्कर्षमा नपुग्न तथा वैधानिक व्यवसायको प्रतिष्ठामा आघात पुग्ने गरी भ्रम फैलाउने सामग्री प्रकाशन नगर्न साइमेक्सले सञ्चारमाध्यम तथा सरोकारवालाहरूलाई विनम्र अनुरोध गरेको छ । नेपालको वातावरणीय लक्ष्य प्राप्ति, इन्धन आयातमा कमी तथा दिगो यातायातको पहुँच विस्तारमा इलेक्ट्रिक मोबिलिटी क्षेत्रले महत्वपूर्ण योगदान पुर्‍याइरहेको भन्दै कम्पनीले यस क्षेत्रमा सार्वजनिक विश्वास कायम राख्न तथ्यमा आधारित जिम्मेवारीपूर्ण बहस आवश्यक रहेको उल्लेख गरेको छ।

विगत लामो समयदेखि नेपालको स्वच्छ उर्जा रूपान्तरणमा विश्वासिलो साझेदार रहेको भन्दै कम्पनीले आगामी दिनमा पनि इमान्दारिता, पारदर्शिता र कानुनको पालना गर्दै उपभोक्ताको सेवामा निरन्तर रहने प्रतिबद्ध पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्