
काठमाडौं । नेपाली कांग्रेसले बारा जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गरेको छ । गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन सक्रिय भूमिका खेलेको र अनुशासन उल्लंघन गरेको आरोपमा उनलाई निलम्बन गरिएको हो ।
आज बसेको अनुशासन समितिको बैठकले यादवलाई अन्तिम निर्णय नहुन्जेलसम्मका लागि सभापति पदको कामकाज गर्न नपाउने गरी निलम्बन गर्ने निर्णय गरेको हो । प्रतिनिधि सभा निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध लागेको भन्दै उनी विरुद्ध केन्द्रीय अनुशासन समितिमा उजुरी परेको थियो ।
उक्त उजुरीका आधारमा समितिले यादवलाई पहिलो पटक गत गत वैशाख ३० गते पाँच दिनको समय दिएर स्पष्टीकरण सोधेको थियो । तोकिएको समयभित्र कुनै जवाफ नआएपछि पुनः जेठ १२ गते तीन दिनको समय तोकेर दोस्रो पटक स्पष्टीकरण माग गरिएकोमा उनले त्यसको समेत बेवास्ता गरेको समितिले जनाएको छ ।
बाराकै उपसभापति अमिरीलाल राउतले भने अनुशासन उल्लङ्घनको आरोपबाट सफाइ पाएका छन् ।
उनले बुझाएको स्पष्टीकरण सन्तोषजनक रहेको र मिसिल संलग्न कागजात अध्ययन गर्दा थप कारबाही गर्नुपर्ने अवस्था नदेखिएको भन्दै समितिले उनलाई सफाइ दिने निर्णय गरेको हो ।














