
दुईतिहाइ सरकारको नेतृत्व गरेका प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)का मौन क्रियाकलापले यतिबेला नेपाली राजनीतिमा अनेकौं आशंका उब्जाएको छ । उनको मौन तर निकै अर्थपूर्ण सक्रियताले आम सचेत नागरिकलाई झस्क्याएको छ । हिजो जसरी बालेनलाई हेरिएको थियो, आज उनको बोली र व्यवहारले उनी राष्ट्रघाती साबित भएका छन् ।
अस्ति आइतबार अचानक संसद् पुगेका प्रधानमन्त्री बालेनले सभापति आशन्न भारत भ्रमणमा चुच्चे नक्सादेखि ईपीजी रिपोर्टका विषयमा बोलेर नेपालको अडान भारत समक्ष पु¥याउनुपर्नेमा उल्टै नेपालले भारतको जमिन मिचेको झुटो कुरा बोलेर राष्ट्रघाती काम गरेका छन् ।
पूर्वसूचना बिना संसद् पुगेका प्रधानमन्त्रीले संसद्मा किन तथ्यहीन कुरा बोले भन्ने विषय रहस्यकै गर्भमा छ । उनले यस विषयमा सार्वभौम संसदबाटै माफी माग्नुपर्छ र राजीनामा दिनुपर्छ ।
बालेनको उदय कुनै राजनीतिक पृष्ठभूमिबाट भएको होइन, न त लोकतान्त्रिक आन्दोलनबाट नै भएको हो । उनको उदय पुराना दलहरूको असक्षमताकै जगमा भएको हो । उनको पृष्ठभूमि पनि राजनीतिक नभएकाले उनमा त्यस प्रकारको स्वभाव, संस्कार र राजनीतिक परिपक्वता देखिँदैन । ¥याप गीतबाट युवापुस्ता माझ आफ्नो पहिचान बनाएका बालेन काठमाडौं महानगरको मेयर हुँदै देशकै बागडोर सम्हाल्न अप्रत्याशित रूपमा आएका हुन् । उनमा राजनीतिक चेत नभएका कारण अस्ति आइतबार संसद्मा अन्टसन्ट बोलेर आफैँ धोती खुस्काएका छन् ।
जेनजी विद्रोहको अघोषित नेतृत्वकर्ता हुँदै प्रधानमन्त्री पदकै लागि रास्वपामा प्रवेश गरेर निर्वाचनमा उल्लेख्य सफलता हासिल गरेपछि जसरी प्राथमिकताका आधारमा शासनसत्ता चलाउनुपर्ने हो, त्यसमा उनी असफल भइसकेका छन् । जेन्जी विद्रोहमा विद्यार्थीहरूको हत्या आरोपीहरूलाई समेत उनले कानुनको कठघरामा उभ्याउन सकेका छैनन् भने सुशासनको नाममा निजी क्षेत्रलाई आतंकित पार्ने असफल प्रयास गरेका छन् । यसको पछाडि आन्तरिक र बाह्य पक्षको महत्त्वपूर्ण भूमिका रहेको तत्कालीन राजनीतिक घटनाक्रमले संकेत गरेको छ भने भावी दिनमा थप उजागर हुँदै जाने छ ।
जेनजी विद्रोहले मुलुकमा व्याप्त संक्रमणकालीन अवस्थालाई गत फागुन २१ को निर्वाचनले पूर्ववत् अवस्थामा फर्काएको छ । तर निर्वाचित सरकारको नेतृत्व गरेका बालेनको स्वभावले भने मुलुकलाई अर्को संकटमा लैजाने हो कि भन्ने भयले सबै त्रसित छन् ।
उनको यस्ता क्रियाकलापले आगामी दिन थप असहज हुने परिस्थिति निर्माण भइरहेको बुझ्न कठिन छैन । गणतन्त्र दिवसमा कार्यकारी प्रमुखले सम्बोधन गर्ने परम्परालाई उनले अस्वीकार गरेका छन् । संसद्मा राष्ट्रप्रमुखले नीति तथा कार्यक्रम सम्बोधन गर्दैगर्दा उपेक्षापूर्ण तवरले बाहिरिएका छन् ।
आइतबार पूर्वनिर्धारित नभएर अकस्मात् संसद्मा आयोजित प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन पुगेका उनले सबैका प्रश्नको जवाफ नदिएरै बीचमै उठेर हिँडेका छन् । उनले त्यस क्रममा कूटनीतिक मर्यादा विपरीत नेपालले भारतीय भूमि मिचेको गम्भीर एवं तथ्यहीन अभिव्यक्ति दिएर नेपाली राजनीतिलाई तरङ्गित पारेका छन् ।
बालेनका यसअघिका क्रियाकलाप हेर्दा सामान्य लागे पनि पछिल्लो अभिव्यक्तिले उनको असलीरुप प्रकट भएको छ । त्यसैमाथि नेपालले छिमेकी मुलुक भारतको भूमि मिचेको आधारहीन आरोपले देशकै कूटनीतिक सम्बन्धमै आँच पुर्याउने संशय बढाएको छ । यसले समयक्रममा नेपाल भारत सम्बन्धमा अकल्पनीय परिस्थिति सिर्जना नहोला भन्न सकिन्न ।
उनको मौनता र प्रधानमन्त्रीको निर्दिष्ट जिम्मेवारीबाट विमुख भएर भूराजनीतिक शक्ति सन्तुलन बिगार्ने आशयप्रेरित अभिव्यक्तिले उनी आफूसँगै मुलुकमा अर्को संकट निम्त्याउन खोजेका त होइनन् ? संसद्मा भारत लक्षित उनको अभिव्यक्तिले यस्तै यक्ष प्रश्न खडा गरेको छ ।
संसदीय व्यवस्थामा जनताबाट निर्वाचित संसदले प्रधानमन्त्री चयन गर्ने र संसदप्रति प्रधानमन्त्री उत्तरदायी हुनुपर्ने सार्वभौम मान्यता हो । आफू निर्वाचित संसद् प्रति जबाफदेही हुनु प्रधानमन्त्रीको दायित्व भए पनि प्रधानमन्त्री बालेन भने संसद्लाई पूर्णतया अवज्ञा गर्दै अघि बढेका छन् ।
अहिले त झनै भारतीय भूमि नेपालले मिचेको अभिव्यक्ति संसद्मै दिएर प्रधानमन्त्रीकै मर्यादा विपरीत आफ्नो गैरजिम्मेवार चरित्र उदांगो पारेका छन् । यसले उनी छिमेकी मुलुक चिढाउन उद्यत रहेको प्रष्ट हुन्छ । यस्ता कार्यले कालान्तरमा उनका हरेक कदम मुलुकप्रति जिम्मेवार र उत्तरदायी नभएर थप आघात पु¥याउने तवरका मनोमानीपूर्ण हुने संकेत गरेको छ ।
यसअघि पनि राष्ट्रिय पर्वको रूपमा रहेको गणतन्त्र दिवसमै सम्बोधन गर्न अस्वीकार गरेका थिए । यसले पनि उनमा कतै गणतन्त्र प्रति नै अभिरुचि नभएको त होइन ? भन्ने प्रश्न उठेको थियो । त्यसअघि नै राज्यका सम्पूर्ण संरचना आफूमा केन्द्रित गर्दै शक्ति सञ्चयमा जोड दिने उनका कदम कुन उद्देश्य प्राप्तिका लागि हो ?
यदि साँच्चिकै बालेन व्यवस्थामाथि धावा बोल्ने र असन्तुलित परराष्ट्र सम्बन्ध कायम गर्दै छिमेकीसँग सम्बन्ध बिगार्ने गरी अघि बढेका हुन् ? कि यो भारतीय पक्षबाट मिचिएको नेपाली भूमि फिर्ता ल्याउने मुद्दा विषयान्तरका लागि नयाँ प्रोपगान्डा खडा गरिएको हो ? उनले मुलुककै प्रतिष्ठामा आँच पुग्नेगरी नेपालले भारतीय सीमा मिचेको दाबी गरेर नेपाल भारत सम्बन्ध तिक्ततापूर्ण बनाउने धृष्टता कायम गरेका हुन् भने त्यो उनी र देश दुबैलाई निकै भारी पर्नेवाला छ ।
जननिर्वाचित संसदले प्रधानमन्त्री चुनेर शासन गर्ने विधि नै संसदीय व्यवस्थाको मूल मर्म हो । यसै कारण संसदीय व्यवस्थामा जनतालाई नै सार्वभौमसत्ताको प्रतीक मानिन्छ । लोकतान्त्रिक व्यवस्थामा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका एक अर्काका परिपूरक हुन् ।
जननिर्वाचित संसद् र प्रधानमन्त्रीबीचको एउटा कडी टुटे त्यसले समग्र व्यवस्था नै धरापमा पार्दछ । जनताकै मत र त्यसको प्रतिनिधित्व गर्ने सांसदबाट प्रधानमन्त्री बनेका बालेनले यदाकता उपस्थित हुने त्यही संसद् बैठकमै छिमेक चिढ्याउने अभिव्यक्तिले सबैलाई सशंकित बनाएको छ ।
यसअघि काठमाडौं महानगर सम्हाल्दा पनि उनको सार्वजनिक उपस्थिति नगन्य मात्रामा हुने गरेको थियो । आफ्नै कार्यकक्षमा जान समेत उनले अलगै लिफ्ट बनाएका थिए । महानगरपालिका भित्र उनलाई सामान्य मानिसले भेट्नु भनेको चिडियाँखानामा बनमान्छे देख्नु सरह हुन्थ्यो । विगतमा महानगर चलाए जसरी मुलुक चलाउन खोज्नु उनको मूर्खतापूर्ण कार्य हो ।
अब त झनै मुलुकको गरिमामै आँच पुग्ने गरी तथ्यहीन अभिव्यक्ति दिनु झनै घातक छ । प्रधानमन्त्रीको पद सिंगो मुलुकको गरिमासँग जोडिएको विषय हो, यो स्थानीय सरकार प्रमुखको कार्यभार सम्हालेजस्तो होइन । त्यो चरित्र र व्यवहारमा उनी प्रधानमन्त्री भैसकेपछि पनि केही फरक देखिएको छैन । दुईतिहाइका प्रधानमन्त्री बालेन झन् उद्दण्ड हुँदै गएका छन् ।
मुलुकको प्रधानमन्त्रीले देशको सार्वभौमसत्तासँग जोडिएका विषयमा हचुवा टिप्पणी गर्दा त्यसको समग्र भार देशले चुकाउनुपर्छ । हिजो महानगरको मेयर हुँदा ग्रेटर नेपालको नक्सा कार्यकक्षमा टाँसेजस्तो सहज प्रधानमन्त्री हुँदा हुँदैन भन्ने उनले हेक्का राख्नुपर्छ । सार्वभौम संसद्मै नेपालले भारतीय सीमा मिचेको अभिव्यक्ति दुवै देशका लागि हितकर टिप्पणी किमार्थ होइन ।
विश्व जगतमा उपस्थिति र कूटनीतिक सम्बन्ध कायम गर्ने प्रमुख भूमिका कार्यकारी प्रमुखको हैसियतमा प्रधानमन्त्रीकै हो । तर यतिबेला प्रधानमन्त्री बालेन बालुवाटार र प्रधानमन्त्री निवासकै गुप्तबासबाट शासन सञ्चालन गर्ने अभीष्ट राखेर संसद्मा समेत छिमेक लक्षित अप्रमाणित अभिव्यक्तिले अन्तर्राष्ट्रिय सम्बन्ध धुमिल बनाउन उद्यत देखिएका छन् ।
विगतमा काठमाडौं महानगरको मेयर हुँदा अर्को उत्तरी छिमेकी चीनलक्षित अमर्यादित टिप्पणी गर्ने बालेनले अहिले फेरि भारतप्रति अनावश्यक आक्षेप लगाउन थालेका छन् । यसले उनको कूटनीतिक अपरिपक्वता प्रदर्शित गरेको छ । हाम्रो जस्तो जटिल भूराजनीतिक अवस्थितिमा रहेको मुलुकका प्रधानमन्त्रीबाट छिमेक लक्षित तथ्यहीन टिप्पणीले भूराजनीतिक शक्ति सन्तुलन खल्बलिएर थप संकट निम्त्याउने खतरा बढेको छ ।














