Logo
Logo

प्रहरीमा शुद्धीकरण अभियान, दुई एसपीसहित एकैदिन चार सिनियर अधिकृत निलम्बित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १७ मंसिर ।
नेपाल प्रहरीमा दुई एसपीसहित एकैदिन चार सिनियर अधिकृत निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा दुई एसपी, एक डिएसपी र एक इन्सपेक्टर निलम्बनमा परेका हुन् । एसपीद्वय विमल बस्नेत र रामेश्वर प्रसाद यादब तथा इन्सपेक्टर मेघराज चौरसियालाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहले निलम्बन गरेको हो ।


प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णालीमा हुँदा अनियमितता गरेको खुलेपछि उनीहरुलाई गृहले निलम्बन गरेको प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले बताए । निलम्बन गरेर उनीहरुमाथि विभागीय कारबाही गर्न लागिएको छ । आफु मातहतकै प्रहरी कार्यालयहरुबाट मासिक रुपमा पैसा उठाएको पुष्टि भएपछि प्रहरी प्रधान कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको थियो । उनीहरुलाई निलम्बन गरी कारबाही अघि बढाइएको प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले बताए ।

त्यस्तै डिउटीको समयमा होटलमा भेटिएका इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीका तत्कालिन इन्चार्ज डिएसपी भरतबहादुर चौधरीलाई पनि गृह मन्त्रालयले निलम्बन गरी कारबाही प्रक्रिया सुरु गरेको छ । गत १० मंसिरमा उनी सम्पर्कविहिन भएका थिए । पछि खोज्दा डिउटी छाडेर उनी युवतीसँग होटलमा भेटिएका थिए ।

अनियमिततामा संलग्न तथा डिउटीमा ध्यान नदिनेलाई सचेत गराउन यस्तो कारबाही गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले  महानिरीक्षक नियुक्त भएलगत्तै आफु बोलीमा नरम भएपनि व्यवहारमा कडा रहेकाले कारबाहीका लागि नडराउने चेतावनी दिएका थिए ।

स्रोतका अनुसार उनले प्रहरी निरीक्षणालयलाई सक्रिय बनाउने तयारी गरेका छन् । विगतमा जस्तो अब गल्ती गर्ने प्रहरी कुनै पनि हालतमा उम्कन नसक्ने अवस्था उनले प्रहरीमा बनाउन लागेका छन् ।

जसरी नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले जर्नेल र कर्णेललाई नै बर्खास्त गरेर सेनामा शुद्धीकरण थालेका थिए महानिरीक्षक क्षेत्रीले पनि नेपाल प्रहरीमा त्यस्तै पहल थालेका छन् ।

प्रहरी पेट्रोल पम्पको २०७१ सालदेखिको हिसाब खोजिदै
प्रहरी कल्याण कोष अन्र्तगत सञ्चालित प्रहरी पेट्रोल पम्पमा २०७१ सालदेखिको हिसाब खोजी भएको छ । पम्पमा हिनामिना संकेत भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीले आन्तरीक रुपमा छानबिन गरिरहेको छ ।

अनियमितताका योजनाकार असई दिलिप कार्कीलाई प्रहरीले गत ३० साउन पक्राउ गरी अख्तियारमा बुझाएको थियो । हाल उनलाई धरौटीमा छाडेर पछिल्लो पाँच वर्षको विस्तृत अनुसन्धान भइरहेको छ । प्रहरीले एसपी सुदर्शन कोइरालाको नेतृत्वमा छानबिन समिति बनाएर हिसाब रुजु गरिरहेको छ । प्रारम्भिक छानबिनमा असई एक करोड ८ लाख ९९ हजार एक सय ८४ रुपैयाँ हिनामिना गरेको खुलेको थियो । विस्तृत छानबिनमा थप अनियमितता भेटिएको प्रहरी स्रोत बताउँछ ।

प्रहरी पेट्रोल पम्पमा कारोबार गर्नेहरु ठूला कम्पनीहरुले भुक्तान गरेको रकम आफै प्रयोग गरेर कार्कीले हिनामिना गरेका हुन् । त्यो रकम उनले आफ्नो घर बनाउन समेत खर्च गरेको खुलेको छ ।

२०७५ को असोजदेखि २०७६ को असोजसम्ममा कार्कीले एक करोड ८ लाख हिनामिना गरेका हुन् । त्यसअघि पनि उनले त्यसैगरी रकम हिनामिना गरेको छानबिनमा खुलेको छ ।

हलसम्मको छानबिनमा उच्च पदस्थ प्रहरीमा संलग्नता देखिएको छैन । प्रहरी पेट्रोल पम्पमै कार्यरत अन्य कर्मचारीसँग मिलेर असई कार्कीले रकम हिनामिना गरेको प्रहरी स्रोत बताउँछ । प्रहरीले आन्तरिक छानबिन सकाएर अख्तियारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्