काठमाडौं । हमासले शनिवार इजिप्टको राजधानी काइरोमा प्यालेस्टिनी विभिन्न पक्ष तथा मध्यस्थकर्ताहरूसँग गाजा युद्धविराम सम्झौताको कार्यान्वयन र गाजा क्षेत्रको भावी व्यवस्थापनबारे औपचारिक छलफल सुरु गरेको जनाएको छ ।

हमासका प्रवक्ताले सञ्चारकर्मीहरूसँग कुरा गर्दै बैठकको मुख्य उद्देश्य युद्धविराम सम्झौताको पहिलो चरणमा भएका सहमतिहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्नु रहेको बताए । उनका अनुसार यसमा सैन्य गतिविधि तथा तनावको अन्त्य, लक्षित आक्रमण रोक्ने, सीमा नाकाहरू सञ्चालनमा ल्याउने तथा राष्ट्रिय समितिलाई गाजामा प्रवेशको अनुमति दिने विषयहरू समावेश छन् ।
उनले थप जानकारी दिँदै दोस्रो चरणका विषयमा पनि छलफल हुने बताए । यस क्रममा अन्तर्राष्ट्रिय शान्ति बल वा प्राविधिक समितिको भूमिकाबारे विचार–विमर्श गरिनुका साथै प्यालेस्टिनी हतियारसम्बन्धी विषयमा सबै पक्षलाई स्वीकार्य हुने समाधान खोज्ने प्रयास गरिनेछ ।
हमासले प्यालेस्टिनी जनताको हितलाई सर्वोच्च प्राथमिकतामा राखेको र गाजामा पुनः द्वन्द्व सिर्जना हुन सक्ने कुनै पनि कारण हटाउने प्रयास गरिरहेको उनले बताए ।
गाजास्थित हमास नेतृत्वको प्रतिनिधिमण्डल तथा अन्य प्यालेस्टिनी पक्षका प्रतिनिधिहरू शुक्रवार काइरो पुगेका थिए। वार्ता केही दिनसम्म जारी रहने अपेक्षा गरिएको छ ।
यी घटनाक्रमहरू अक्टोबर २०२५ मा भएको युद्धविराम सम्झौताको कार्यान्वयन अझै पूर्ण रूपमा हुन नसकेको अवस्थाबीच भएका हुन् । सम्झौताका महत्त्वपूर्ण पक्षहरू, जस्तै निःशस्त्रीकरण र पुनर्निर्माण, अझै प्रक्रियामै रहेका छन् ।
युद्धविरामको पहिलो चरणअन्तर्गत बन्दीहरूको आदानप्रदान, गाजामा मानवीय सहायता प्रवेश तथा केही क्षेत्रबाट सैनिक फिर्ता गर्ने व्यवस्था गरिएको थियो ।
जनवरी महिनाको मध्यतिर युद्धविरामको दोस्रो चरण सुरु भएको घोषणा गरिएको थियो । यस चरणमा सैनिक फिर्ती, निःशस्त्रीकरण, पुनर्निर्माण तथा अन्तरिम प्रशासनिक संरचना गठन गर्ने विषयहरू समावेश छन् ।














