Logo
Logo

थाइल्यान्डसँग ५६ रनको हारसँगै नेपाल एसिया कप छनोटबाट बाहिरियो


441
Shares

काठमाडौं । नेपाली महिला क्रिकेट टोली एसिया कपमा पनि छनोटबाट बाहिरिएको छ । एसियन गेम्स छनोटमा असफल भएको महिला टोली एसिया कपमा पनि छनोटबाट पनि बाहिरिएको हो । 

The current image has no alternative text. The file name is: loss.jpg

मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्‍वाटरफाइनलमा थाइल्यान्डसँग पराजित भएसँगै नेपाल एसिया कपमा छनोट हुन असफल भएको हो । बुधबार विहान भएको क्‍वाटरफाइनलमा नेपाल थाइल्यान्डसँग ५६ रनले पराजित भयो ।

थाइलयान्डले प्रस्तुत गरेको १३१ रनको लक्ष्य पछ्याएको नेपालले पूरा २० ओभरमा ७ विकेट गुमाएर ७४ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक अविजित २० रन बनाइन् । सोनी पाख्रिनले १५, सीता रानामगरले १२ तथा सम्झना खड्काले ११ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अङ्क छुन सकेनन् ।

थाइल्यान्डका लागि थिपात्चा पुथावङले ४ ओभरमा ७ रन मात्र दिएर २ विकेट लिइन् । सुनिदा चतुरोङरतना र सुलिपर्न लाओमीले पनि २-२ विकेट लिए भने फनिता मायाले १ विकेट लिइन् ।

त्यसअघि वायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ४ विकेट गुमाएर १३० रन बनाएको थियो ।

थाइल्यान्डका लागि नानापत कोन्चारोन्काइले अर्धशतकीय पारी खेलिन् । उनले ५१ बलमा अविजित ६३ रन बनाइन् । फनिता मायाले २६ तथा चनिदा सुथिराङले १६ रन बनाइन् ।

नेपालका लागि कविता कुँवर, रिया शर्मा र रुबिना क्षेत्रीले १-१ विकेट लिए । नेपाली महिला टोली गत साता भएको एसियन गेम्सको छनोटमा पनि निर्णायक खेलमा चीनसँग पराजित भएर एसियन गेम्समा छनोट हुन असफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्