काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा सामान्य वृद्धि देखिएको छ । बजार दिनभर उतारचढावपूर्ण रहे पनि अन्तिम समयमा खरिद चाप बढेपछि नेप्से २.५७ अङ्कले उकालो लाग्दै २,७३६.१७ विन्दुमा बन्द भयो ।

आज कुल ३५६ कम्पनीका सेयर कारोबार भएका थिए भने ४ अर्ब २९ करोड ७४ लाख ६३ हजार ३२७ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबारमा १२७ कम्पनीको मूल्य बढ्दा १३४ कम्पनीको घट्यो भने १० कम्पनी स्थिर रहे।
उपसमूहगत रूपमा होटल तथा पर्यटन र जलविद्युत समूहमा सुधार देखिए पनि जीवन बीमा र निर्जीवन बीमा समूह दबाबमा परे। जलविद्युत क्षेत्रमा तीन कम्पनीमा सकारात्मक सर्किट लागेको छ, जसमा कालिञ्चोक हाइड्रोपावर, सोपान फर्मास्युटिकल्स र अपोलो हाइड्रोपावरको मूल्य करिब १५ प्रतिशतसम्म बढेको छ ।
कारोबार रकमका आधारमा आँखुखोला हाइड्रोपावर शीर्ष स्थानमा रह्यो भने सप्तकोशी डेभलपमेन्ट बैंक र सिटी होटल लिमिटेड पनि उच्च कारोबार हुने कम्पनीमा परे । समग्रमा बजारमा सीमित सुधार देखिए पनि लगानीकर्ताको मिश्रित धारणा कायमै रहेको देखिएको छ ।














