काठमाडौं । फिफा विश्वकप अन्तर्गत समूह ‘बी’ को खेलमा बोस्निया एन्ड हर्जगोभिना र क्यानडाले बराबरी खेल्दै अंक बाँडेका छन्। सह-आयोजक क्यानडाको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेल १–१ गोलको बराबरीमा टुंगिएको हो।

खेलको पहिलो हाफमा बोस्नियाले सुरुवाती अग्रता लिएको थियो। २१ औँ मिनेटमा इभान बासिचको कर्नरमा सेआद कोलासिनाचले दिएको पासलाई सदुपयोग गर्दै जोभो लुकिचले गोल गरी टोलीलाई अघि बढाएका थिए।
पहिलो हाफमा क्यानडाले गोलका लागि पटक-पटक कर्नरको अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन। तर, दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै क्यानडाले खेललाई बराबरीमा ल्यायो। ७८ औँ मिनेटमा काइल लारिनले गोल गर्दै खेललाई १–१ को स्थितिमा पुर्याए।
दोस्रो हाफको निर्धारित समयपछि थप गरिएको ६ मिनेटको ‘इन्जुरी समय’ मा दुवै टोलीबाट थप गोल हुन सकेन। निकै आक्रामक बनेको उक्त खेलमा बोस्नियाका तीन र क्यानडाका दुई खेलाडीले पहेँलो कार्ड पाएका थिए।














