Logo
Logo

अब मोबाइलको एक क्लिकमै भारतबाट नेपाल पैसा पठाउन सकिने


0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त प्रतिष्ठित रेमिट्यान्स कम्पनी ‘संसार रेमिट’ र ‘पशुपति पे इन्डिया’बीच रणनीतिक साझेदारी भएको छ। यस साझेदारीसँगै भारतमा रहेका लाखौँ नेपालीहरूले अब औपचारिक तथा वैधानिक माध्यमबाट मोबाइलको एक क्लिकमै नेपालमा पैसा पठाउन सक्ने भएका छन्।

यो सेवा उपभोग गर्न भारतमा रहेका नेपालीहरूले ‘पशुपति पे’ एप डाउनलोड गरी अनलाइन केवाईसी प्रमाणीकरण पूरा गर्नुपर्नेछ। त्यसपछि उनीहरूले घर, कार्यस्थल वा भारतको जुनसुकै स्थानबाट सहजै नेपालमा रकम पठाउन सक्नेछन्। हालसम्म धेरैजसो सेवाग्राहीहरू पैसा पठाउन एजेन्ट वा भौतिक सेवा केन्द्रमै जानुपर्ने बाध्यतामा थिए। तर, अब सम्पूर्ण प्रक्रिया मोबाइलबाटै पूरा हुने भएपछि भौतिक एजेन्ट वा शाखा कार्यालयसम्म धाइरहनु पर्दैन, जसले सेवाग्राहीको समय र लागत दुवै बचत गर्नेछ।

संसार रेमिटका डीजीएम राजीव पोखरेलका अनुसार भारतको जुनसुकै स्थानबाट २४सै घण्टा नेपालका बैंक खाता र डिजिटल वालेटहरूमा सिधै रकम पठाउन सकिने व्यवस्था मिलाइएको छ। यो सेवा परम्परागत माध्यमहरूभन्दा कम लागतमा पूर्ण रूपमा सुरक्षित र वैधानिक तवरले उपलब्ध हुनेछ। यसको सेवा शुल्क (कमिसन) समेत प्रतिस्पर्धी तथा तुलनात्मक रूपमा निकै कम रहेको छ भने नयाँ ग्राहकहरूलाई आकर्षित गर्न पहिलो कारोबार निःशुल्क गर्ने व्यवस्था समेत गरिएको छ।

हाल भारतमा करिब ३० देखि ३५ लाख नेपालीहरू कार्यरत रहे पनि १०–१५ प्रतिशतले मात्र नेपाल पैसा पठाउन औपचारिक माध्यम प्रयोग गरिरहेको अवस्था छ। यस्तो स्थितिमा डिजिटल माध्यमबाट उपलब्ध गराइने यो सुलभ सेवाले हुन्डीजस्ता अवैध वित्तीय कारोबारलाई निरुत्साहित गर्न ठूलो सघाउ पुर्‍याउने अपेक्षा गरिएको छ।

विगत झन्डै दुई दशकदेखि वित्तीय सेवामा सक्रिय संसार रेमिटले हाल विश्वका २०० भन्दा बढी देश तथा क्षेत्रबाट नेपालमा रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आएको छ। कम्पनीले नेपालभरका बैंक तथा वित्तीय संस्थाहरूका साथै प्रमुख डिजिटल वालेटहरूसँग सहकार्य गर्दै सुरक्षित र भरपर्दो सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्