काठमाडौं । कप्तान लियोनल मेस्सीको ह्याट्रिकमा साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप-२०२६ को शानदार सुरुवात गरेको छ ।

अमेरिकाको कान्सास सिटी रङ्गशालामा बुधवार बिहान भएको खेलमा अल्जेरियालाई ३-० ले पराजित गर्दै अर्जेन्टिनाले शानदार सुरुवात गरेको हो । छैटौँ पटक विश्वकप खेलेका मेस्सीले पहिलोपटक ह्याट्रिक पूरा गरेका हुन् ।
उनले खेलको १७औँ, ६०औँ र ७६औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । यो जितसँगै अर्जेन्टिनाले ३ अङ्क जोड्दै समूह जे मा शीर्ष स्थानमा उक्लिएको छ ।
यो ह्याट्रिकसँगै मेस्सीले विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमानसमेत बराबरी गरेका छन् । विश्वकपमा १६ गोल गर्दै मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोसको नाममा रहेको कीर्तिमान बराबरी गरेका हुन् ।
सन् २००६ मा विश्वकपमा डेब्यु गरेका मेसीले अल्जेरिया विरुद्ध खेलेपछि छैटौँ विश्वकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका थिए ।
उनले सन् २०१० को विश्वकपबाहेक पाँच विश्वकपमा गोल गरेका छन् । चार वर्षअघि कतारमा मेस्सीले आफ्नै कप्तानीमा अर्जेन्टिनालाई विश्वकप उपाधि जिताएका थिए । यस्तै विश्वकपमा मेस्सीले कीर्तिमानी २७औँ खेल खेलेका छन् ।














