काठमाडौं । स्विट्जरल्यान्डले फिफा विश्वकप-२०२६ मा पहिलो जित निकालेको छ । गए राती अमेरिकाको लस एन्जलसस्थित सोफाइ स्टेडियममा भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई ४-१ ले पराजित गर्दै स्विट्जरल्यान्डले पहिलो जित दर्ता गरेको हो ।

स्विट्जरल्यान्डका लागि जोहान मान्जाम्बीले दुई, रुबेन वर्गास र ग्रानिट जाकाले एकएक गोल गरे । बोस्नियाका एर्मिन माहमिकले सान्त्वना गोल गरे । मान्जाम्बीले खेलको ७४औँ मिनेटमा गोल गर्दै स्विट्जरल्यान्डलाई पहिलो अग्रता दिलाएका थिए । त्यसपछि ८०औँ मिनेटमा बोस्निायाका तारिक मुहारेमोभिकले विपक्षी खेलाडीलाई लडाएपछि रातो कार्ड पाउँदै बाहिरिए । त्यसपछि स्विट्जरल्यान्ड खेलमा हाबी बन्यो ।
रुबेन वर्गासले ८४औँ मिनेटमा गोल गर्दै स्विट्जरल्यान्डको अग्रता दोब्बर बनाए । जोहानले ९०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा टोलीको अग्रता तेब्बर बनाए ।
दोस्रो हाफको इन्जुरी समयमा एर्मिन माहमिकले गोल गर्दै बोस्नियालाई खेलमा फर्काउने कोशिस गरे । तर, अन्तिम समयमा डिबक्सभित्र स्विट्जरल्यान्डका खेलाडीलाई लडाएपछि पेनाल्टी पायो । उक्त पेनाल्टीको सदुपयोग गर्दै ग्रानिट जाकाले गोल गरे र स्विट्जरल्यान्ड ४-१ ले विजयी भयो ।
यो जितसँगै स्विट्जरल्यान्ड ४ अङ्क जोडेर समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ । अन्य ३ टोलीको समान एक अङ्क छ । यसअघि पहिलो खेलमा स्विट्जरल्यान्ड कतारसँग १-१ को बराबरीमा रोकिएको थियो । स्विट्जरल्यान्डसँग पराजित भएको बोस्निया एन्ड हर्जगोभिना आफ्नो पहिलो खेलमा क्यानडासँग १–१ को बराबरी खेलेको थियो ।














