काठमाडौं । सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । न्यूयोर्क न्यू जर्सी स्टेडियममा मङ्गलवार बिहान भएको खेलमा सेनेगललाई ३-२ ले हराउँदै नर्वे २८ वर्षपछि नकआउट चरण प्रवेश गरेको हो ।

खेलको ४३औँ मिनेटमा मार्कस मार्कस होल्मग्रेन पेडरसनले गोल गर्दै नर्वेलाई पहिलो अग्रता दिलाएका थिए । नर्वेका एर्लिङ हाल्यान्ड ४८औँ मिनेटमा गोल गर्दै टोलीलाई २ गोलको अग्रता दिलाए ।
५३औँ मिनेटमा इस्माइला सारले गोल गर्दै सेनेगललाई खेल फर्काउने कोसिस गरे । तर, ५८औँ मिनेटमा हाल्यान्डले व्यक्तिगत दोस्रो गोल गर्दा नर्वेको अग्रताको दुरी बढाए ।
दोस्रो हाफको इन्जुरी समयमा इस्माइलाले व्यक्तिगत दोस्रो गोल गर्दे खेलमा फर्किएपनि सफल हुन सकेनन् । २८ वर्षपछि विश्वकपमा खेलेको नर्वे एक खेलअगावै नकआउट चरण प्रवेश गरेको हो । नर्वेले पछिल्लोपटक सन् १९९८ मा भएको विश्वकप खेलेको थियो । त्यसयता छनोट हुन सकेको थिएन ।
जितपछि नर्वे ६ अङ्कसहित समूह ‘आइ’ को दोस्रो स्थानमा छ । समान ६ अङ्क रहेको फ्रान्स गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ । नर्वे र फ्रान्सले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन् ।














