Logo
Logo

एकै निर्वाचनले कम्युनिस्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्नु हुँदैन: विद्या भण्डारी


63
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हालैको निर्वाचनको मतपरिणामकै कारण नेपालमा कम्युनिस्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न नहुने बताएकी छन् । मदन भण्डारी फाउन्डेसनद्वारा मदन भण्डारी जन्मजयन्तीको अवसरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले कम्युनिस्ट आन्दोलनलाई समयानुकूल परिमार्जन गर्न आवश्यक रहेको बताएकी हुन् ।

“निर्वाचनले कम्युनिस्ट दलहरूलाई वैचारिक बहसमा जुट्न अनिवार्य बनाएको छ । एउटा निर्वाचनको मतपरिणामकै आधारमा कम्युनिस्ट आन्दोलनबारे अन्तिम निष्कर्ष निकाल्न हतार गर्नु हुँदैन,” उनले भनिन्, “तथापि, मतपेटीकामार्फत जनताले व्यक्त गरेको सन्देशलाई आत्मसात् गर्नु आजको आवश्यकता हो ।”

उनले बदलिँदो पुस्ताको आकांक्षाअनुसार कम्युनिस्ट आन्दोलनलाई निरन्तर परिष्कृत गर्नुपर्ने आवश्यकता औंल्याइन् । “आत्मसमीक्षा र जनतासँगको जीवन्त सम्बन्धले मात्रै भविष्यप्रतिको जिम्मेवारीलाई अझ सुदृढ बनाउन सक्छ,” उनले थपिन्, “बदलिँदो जनआकांक्षा र राष्ट्रिय आवश्यकतालाई नीति तथा नेतृत्वमा प्रतिविम्बित गरिनुपर्छ । विगतको उपलब्धिको स्मरण मात्रै अब पर्याप्त हुँदैन ।”

यसै गरी, उनले नेपालको सन्दर्भमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली उपयुक्त नभएको धारणा समेत राखिन् । “प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हाम्रो देशका लागि हितकर हुँदैन भन्ने मेरो निष्कर्ष छ,” उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्