Logo
Logo

‘आईएसएफए स्ट्रिट फुटबल विश्वकप’को छनोट प्रतियोगिता नेपालमा, विजेताले नेदरल्यान्ड्समा खेल्ने


63
Shares

काठमाडौं । नेपालमा स्ट्रिट फुटबलको पुरानो माहोल फर्काउने लक्ष्यका साथ ‘एक्सट्रिम फुटबल फेभर थ्री भर्सेस थ्री’ प्रतियोगिता आयोजना हुने भएको छ। यो प्रतियोगिता नेदरल्यान्ड्समा आयोजना हुने ‘आईएसएफए स्ट्रिट फुटबल विश्वकप’ को आधिकारिक छनोट चरण समेत हो।

आइतबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार, एलपीएस म्यानेजमेन्ट, एथ्लेट इनहान्समेन्ट सेन्टर (एईसी) र ट्रिपल टु प्रोडक्सनको संयुक्त आयोजनामा यो प्रतियोगिता आगामी जुलाई १ देखि ८सम्म काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा सञ्चालन हुनेछ।

प्रतियोगिताको ढाँचा र सहभागी टोलीहरू
कुल टोली: प्रतियोगितामा ९५ टोलीको सहभागिता रहनेछ, जसलाई २३ समूहमा विभाजन गरिएको छ।

खेल प्रणाली: खेलहरू ‘लिग कम नकआउट’ आधारमा खेलाइनेछ।

नकआउट चरण: लिग चरणको खेलपछि प्रत्येक समूहका विजेता र उपविजेताका साथै तेस्रो स्थान हासिल गर्ने उत्कृष्ट १८ टोली गरी कुल ६४ टोली नकआउट चरणमा प्रवेश गर्नेछन्। त्यसपछि राउन्ड अफ ६४, राउन्ड अफ ३२, राउन्ड अफ १६, क्वार्टरफाइनल, सेमिफाइनल हुँदै फाइनल खेल हुनेछ।

विश्वकप यात्राको अवसर
यस प्रतियोगिताको विजेता टोलीले आगामी सेप्टेम्बर २ देखि ६ सम्म नेदरल्यान्ड्सको युट्रेक्टमा आयोजना हुने ‘आईएसएफए स्ट्रिट फुटबल विश्वकप’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछ।

एलपीएस म्यानेजमेन्टका सीईओ तथा आईएसएफए कन्ट्री हेड विकल्प खरेलका अनुसार विश्वकपका लागि नेपालबाट ४ खेलाडी, १ व्यवस्थापक र १ प्रशिक्षक गरी ६ सदस्यीय टोली नेदरल्यान्ड्स प्रस्थान गर्नेछ, जसका लागि विभिन्न प्रायोजकहरूले सहयोग गर्नेछन्।

खेलका नियम र विशेषताहरू
खेलहरू आईएसएफएको ‘थ्री भर्सेस थ्री’ स्ट्रिट फुटबल नियमावली अनुसार सञ्चालन हुनेछन्।

प्रत्येक खेल १० मिनेटको हुनेछ भने खेलमा ‘साइज ४’ को फुटसल बल प्रयोग गरिनेछ। खेलहरू अपराह्न ३ बजेदेखि बेलुकी ८ बजेसम्म फ्लडलाइट मुनि खेलाइनेछ।

खेलको समयमा थप रौनक प्रदान गर्न विशेष संगीत (म्युजिक) र विविध मनोरञ्जनात्मक प्रस्तुतिहरू समेत रहनेछन्।

स्थानीय संस्कृति र फुटबलको फ्युजन
ब्राजिलको प्रसिद्ध ‘साम्बा स्ट्रिट फुटबल’ जस्तै काठमाडौँको मौलिक संस्कृति र स्ट्रिट फुटबलको वास्तविक रोमाञ्चकतालाई जोड्न आयोजकले उपत्यकाका विभिन्न ऐतिहासिक स्थानहरू छनोट गरेको छ। समूह चरणका खेलहरू काठमाडौँको कुमा ननी, टेकु, तबाहल, लगन, ओमबहाल र तेबहाल (संकटा)मा खेलाइनेछ।

विश्वभरका स्ट्रिट फुटबल खेलाडीहरूलाई एउटै छानामुनि जोड्ने उद्देश्यका साथ सन् २०२३ मा इन्टरनेसनल स्ट्रिट फुटबल एसोसिएसन (आईएसएफए) को स्थापना भएको हो। नेपालले गत वर्ष लातभियामा आयोजित आईएसएफए स्ट्रिट फुटबल विश्वकपमा समेत सहभागिता जनाइसकेको छ।

पत्रकार सम्मेलनमा विकल्प खरेलसँगै एईसी स्पोर्ट्सका संस्थापक सुदिन महर्जन र ट्रिपल टु प्रोडक्सनका प्रतिनिधि उत्सव खड्काले नेपालमा स्ट्रिट फुटबलको राम्रो सम्भावना रहेको र यसको विकासका लागि सबै एकजुट भएर प्रतियोगिता आयोजना गर्न लागेको बताए। सोही कार्यक्रममा प्रतियोगिताको समूह विभाजनका लागि ‘ड्र’ (टाई-सिट) समेत सार्वजनिक गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्