काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले किसानको समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।

२३ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मूल समारोहलाई सम्बोधन गर्दै उनले किसानलाई गुणस्तरीय बीउ, मल, सिंचाई, कृषि बीमा, राहत तथा उत्पादनको उचित मूल्य सुनिश्चित गर्न सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताएका हुन् । नेपालमा वार्षिक ७० लाख मेट्रिक टन धान आवश्यक रहेपनि करिब ६० लाख मेट्रिक टन धान उत्पादन हुने गरेको उल्लेख गर्दै किसानका समस्या समाधान गर्न सकेमा उत्पादन वृद्धि हुने बताए ।
उनले किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाएको बताए । सरकारले धानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ८६५ रुपैयाँ तोके पनि किसानले सो मूल्य नपाएको उनको भनाई छ । उनले निजी क्षेत्र, मिल उद्योग तथा औद्योगिक क्षेत्रलाई किसानको उत्पादन समर्थन मूल्यमा खरिद गर्ने व्यवस्था गर्न सरकारसँग आग्रह गरे । समर्थन मूल्य व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने उनको भनाई छ । सभापति चौधरीले कृषि आधुनिकीकरण, कृषि बीमा, राहत तथा प्रविधिमैत्री कृषि प्रणाली विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ रहेको छ ।














