काठमाडौं। भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीलाई अर्थ मन्त्रालयमा फिर्ता बोलाइएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रीस्तरीय निर्णय गर्दै भण्डारीलाई मन्त्रालयमा फिर्ता बोलाएका हुन्।

उनलाई गत वर्षको साउनमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले विभागको महानिर्देशक नियुक्त गरेका थिए। त्यसअघि उनी मन्त्रालयकै योजना महाशाखा प्रमुखका रूपमा कार्यरत थिए ।
भण्डारी मन्त्रालय तानिएसँगै अहिले भन्सार विभागको निमित्त महानिर्देशकको जिम्मेवारी उपमहानिर्देशक भरतमणि पाण्डेलाई तोकिएको छ।
बजेट वक्तव्य आउनुअघि काईयी व्राण्डको इभी गाडी प्रकरणमा रसुवागढी नाकाबाट भएको भन्सार जाँचपासका विषयमा मन्त्रालय र मातहतका निकायलाई गलत सूचना प्रवाह गरी गुमराहमा राखेको आरोप भण्डारीमाथि छ।














