काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोषको सञ्चालक समितिमा सरकारले संरक्षण, वातावरण र प्राज्ञिक क्षेत्रका तीन अन्तर्राष्ट्रिय व्यक्तित्वलाई सदस्यमा मनोनयन गरेको छ ।

कोषकी अध्यक्ष तथा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कोषको ऐनअनुसार बेलायतका लर्ड क्यामोस विलियम स्टोनर, विश्वप्रसिद्ध संरक्षण वैज्ञानिक डा। एरिक डाइनरस्टाइन र अस्ट्रेलियाकी प्राध्यापक डा. विन्डी राइटलाई सदस्यमा मनोनयन गरेकी हुन् ।
सरकारले अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्दै वैज्ञानिक संरक्षणलाई थप प्रभावकारी बनाउने उद्देश्यले उनीहरूको मनोनयन गरेको जनाएको छ । मनोनीत तीनै जनाको संरक्षण, अनुसन्धान, नीति निर्माण तथा अन्तर्राष्ट्रिय सहकार्यमा लामो अनुभव रहेको छ ।
सरकारले यी अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिताले नेपालको संरक्षण अभ्यासलाई आधुनिक प्रविधि, वैज्ञानिक अनुसन्धान तथा अन्तर्राष्ट्रिय दातृ निकायसँग थप मजबुत रूपमा जोड्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
संरक्षणविद्हरूले पनि स्थानीय समुदायको जीविकोपार्जन सुधार, वन्यजन्तुको वैज्ञानिक व्यवस्थापन र जलवायु परिवर्तनका चुनौती सामना गर्न यस्ता अनुभवी व्यक्तित्वहरूको सहभागिताले दीर्घकालीन नीतिगत आधार तयार हुने अपेक्षा गरिएको छ ।
चार दशकभन्दा लामो इतिहास बोकेको राष्ट्रिय प्रकृति संरक्षण कोषले नेपालमा समुदायमा आधारित संरक्षण र जैविक विविधता संरक्षणमा उल्लेखनीय योगदान दिँदै आएको छ । नवमनोनित सदस्यहरूको अनुभव र अन्तर्राष्ट्रिय सञ्जालले कोषको रणनीतिक क्षमता अझ सुदृढ हुने विश्वास गरिएको बताइएको छ ।














