
काठमाडौं । मैदानभित्र छिरेपछि विपक्षी डिफेन्डरका लागि साक्षात् काल बन्ने किलियन एम्बाप्पे र ’प्लान ए, बी र सी’ सहित मैदानमा उत्रिएको फ्रान्सको यो टोलीलाई अब कसले रोक्ने ? फ्रान्सलाई हराउन अब विपक्षीको उत्कृष्ट खेल मात्रै नपुग्ने र भाग्यको बलियो साथ पनि चाहिने हो? के यो खतरनाक फ्रान्सेली टोलीलाई मैदानमा रोक्ने आँट कोसँग होला ? आउनुहोस् आज यही खतारनाक टोलीको भित्री पाटो केलाऔँ ।
अहिले विश्वकपको सबैभन्दा ठूलो प्रश्न हो– अब फ्रान्सलाई कसले रोक्ने ? अहिलेसम्मको खेल हेर्दा लाग्छ, यो टोलीलाई रोक्ने आँट कसैसँग छैन । मैदानमा उनीहरू जसरी खेलिरहेका छन्, त्यो देख्दा फ्रान्सेली टोली तेस्रो वल्र्डकप उठाउन आतुर छ ।
फ्रान्सको सबैभन्दा ठूलो ताकत एउटै खेलाडी होइन, पूरै टोली हो । खेलाडीहरू हे¥यो भने कोहीभन्दा कोही कम छैनन्, सब एकसे एक छन् । २६ जनालाई दुई टोली बनाएर खेलाए पनि उस्तै–उस्तै बलियो देखिन्छ । आज म्याचमा कसलाई उतार्ने र कसलाई बेन्चमा बसाउने भनेर प्रशिक्षक डिडिएर डेस्चाम्स आफैँ रनभुल्लमा पर्छन् होला ! फ्रान्सको डिफेन्स र मिडफिल्ड पनि बलियो नै छ, तर अहिले अपोनेन्टको सातो उडाउने हतियार भनेको फ्रन्टलाइन अर्थात् आक्रमण नै हो, जुन कुरा खेलको रिजल्टले छर्लङ्ग पारिसकेको छ ।
राउन्ड अफ ३२ को खेलमा स्विडेनलाई ३–० ले पराजित गर्दै फ्रान्सले आफूलाई वल्र्डच्याम्पियन निर्विकल्प दाबेदार मात्र पेस गरेन, विपक्षीहरूको मुटुमै ढ्याङ्ग्रो ठोकिदियो । स्विडेनका प्रशिक्षक ग्राहम पोटरले त हार स्वीकार्दै लाचारी नै प्रकट गर्दै भने– ‘मैले आजसम्म फुटबल इतिहासमै यस्तो विनाशकारी टोली देखेको थिइनँ ।’
कप्तान एम्बाप्पे केवल एउटा खेलाडी मात्र रहेनन्, गा्रउन्ड एन्टर गरेपछि विपक्षी डिफेन्डरका लागि साक्षात् काल बनेर उत्रिन्छन् । स्विडेनविरुद्ध दुई गोल ठोक्दै उनले प्रतियोगितामा आफ्नो गोल संख्या ६ पु¥याएर लियोनेल मेस्सीसँगै गोल्डेन बुटको दौडमा शीर्ष स्थान ओगटेका छन् । उनले वल्र्डकप करियरमा १८ खेलमा १८ नै गोल गरेका छन् । हरेक खेलमा औसत १ गोल गर्नु चानचुने कुरा होइन । आधुनिक फुटबलमा दुर्लभ र अद्भूत चामत्कारिक कुरा हो । अब मेस्सीको १९ गोलको विश्वकीर्तिमान तोड्न उनी मात्र २ गोल टाढा छन्, जुन यसै वल्र्डकपमा ब्रेक हुन सक्छ । यद्यपी, मेस्सीले पनि बिश्राम लिइसकेका छैनन्, र, मैदानमा फ्लप पनि भइसकेका छैनन् । उम्मेरले बुढो भएपनि चमक एम्बाप्पेको भन्दा कम छैन ।
डिफेन्सदेखि मिडफिल्ड हुँदै फरवार्डसम्म फ्रान्ससँग विश्वस्तरीय खेलाडीहरूको लामै ताँती छ । फरवार्डमा एम्बाप्पेसँगै ओस्मान डेम्बेले र माइकल ओलिसेजस्ता रफ्तारका बादशाह छन् । काउन्टर–अट्याकमा यी तीन जनाले बल पाए भने विपक्षी डिफेन्सलाई सास फेर्ने फुर्सद समेत हुँदैन ।
सबैभन्दा डरलाग्दो कुरा के छ भने, एक जना रोकियो भने अर्को चम्कन्छन् । एम्बाप्पे चल्दैनन् भने डेम्बेलेले खेल पल्टाइदिन्छन् । डेम्बेले रोकिए भने ओलिसे चम्किन्छन् । यी तीनै जनाको दिन खराब भयो भने पनि बेन्चबाट डिजिरे डुए र ब्राडली बारकोला जस्ता खेलाडी आउँछन् । अर्थात् फ्रान्ससँग प्लान ए, प्लान बी र प्लान सी सबै तयार छ ।
एम्बाप्पेले यसअघि नै दुईवटा वल्र्डकपको फाइनलमा पनि गोल गरेका थिए । सन् २०२२ को वल्र्डकपमा गोल्डेन बुट जितेका उनी २०२६ मा पनि टप स्कोरर बन्ने दौडमा सबैभन्दा अगाडि छन् । अर्का स्टार डेम्बेले तीव्र गति र उत्कृष्ट ड्रिब्लिङका लागि चिनिन्छन्, जो यस सेन्चुरीमा बालोन डीओर जित्ने दोस्रो फ्रान्सेली खेलाडी हुन् ।
उता ओलिसेले पनि जर्मन महारथी क्लब बायर्न म्युनिखमा तहल्का पिटिरहेका छन्, जसको ड्रिब्लिङ र प्लेमेकिङ कला हेर्न लायक हुन्छ । रोचक कुरा के छ भने, यिनीहरूकै उदयले गर्दा करिम बेन्जेमा, ग्रिजम्यान र ओलिभर जिरुड जस्ता लेजेन्डहरूको अन्तर्राष्ट्रिय करियर नै सकियो । यस्ता सुपर–स्टारहरू समेत टिममा नपर्ने यो फ्रान्सेली टोली कति खतरनाक होला, आफैँ सोच्नुहोस् त !
फ्रान्सेली टोलीको मिडफिल्डतिर हेर्ने हो भने त्यहाँ पनि विपक्षीको मुटु कपाउने खेलाडी छन् । एनगोलो कान्टेजस्ता उत्कृष्ट खेलाडी छन्, जसको पहिचान नै विपक्षीको खुट्टाबाट बल खोस्ने, खेलको गति नियन्त्रण गर्ने र सही समयमा पास दिने हो । फ्रान्सको मिडफिल्डका अर्का ठूला भरोसा म्यानचेस्टर सिटीका प्लेमेकर रायान चेर्की हुन् । पीएसजीबाट खेल्ने २० वर्षे ठिटो वारेन जिएर एमेरी पनि लोभलाग्दो फर्ममा छन् । त्यसैले फ्रान्सको आक्रमण मात्रै होइन, खेलमाथिको नियन्त्रण पनि निकै स्ट्रङ देखिन्छ ।
धेरै फुटबल पण्डितहरूले फ्रान्सको अट्याकिङ लाइन खतरनाक भएपनि डिफेन्स अलि विक छ भन्थे । तर, फ्रान्सको डिफेन्स लाइन बायर्न म्युनिख, आर्सनल, बार्सिलोना, लिभरपुल, चेल्सी र पीएसजी जस्ता संसारकै टप क्लबहरूमा तहल्का पिटिरहेका खेलाडीहरूले बनेको छ । बार्सिलोनाबाट खेल्ने जुल्स कुन्डे, लिभरपुलका इब्राहिमा कोनाते र आर्सनलका विलियम सालिबा क्लबका मात्र होइन, युरोप र विश्वकै उत्कृष्ट डिफेन्डर हुन् ।
कतार विश्वकपको फाइनलमा अर्जेन्टिनासँग टाइब्रेकरमा हार्दा एम्बाप्पेले एक्लैले ह्याट्रिक गर्दै विश्वलाई आफ्नो तागत देखाएका थिए । त्यो फाइनल हारको घाउ र पीडा फ्रान्सको मनमा अझै ताजा छ, त्यसैले यसपटक उनी जुनसुकै हालतमा फेरि विश्वविजेता बनेरै छोड्ने धुनमा छन् । डेम्बेलेले पनि क्लब फुटबलको सफलतालाई विश्वकपको मञ्चमा दोहो¥याउन मरिहत्ते गरिरहेका छन् ।
त्यसैले, यो उपाधि जित्नबाट अब फ्रान्सलाई विपक्षीको रणनीतिले भन्दा पनि आफ्नै कुनै खराब दिन वा भाग्यले मात्र रोक्न सक्छ । अब भन्नुहोस् त– यो खतरनाक फ्रान्सलाई मैदानमा कसले रोक्छ ? कसैले सक्ला त ? फ्रान्सलाई हराउन विपक्षीले आफ्नो लाइफकै उत्कृष्ट खेल त खेल्नैपर्छ, साथै फ्रान्सको दिन खराब हुनुपर्छ ।
तर खेलको आँखा हुँदैन भन्ने सत्यलाई पनि बिर्सनु हुँदैन । यहाँ जे पनि हुन सक्छ । चार पटकको विश्वविजेता जर्मनीलाई पाराग्वेले नाकमा हानेर घर फर्काइदियो । जर्मनी जस्तो महारथी पाराग्वेसँग हारेर घर फर्किन्छ र स्पेनजस्तो टोलीलाई पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले बराबरीमा रोक्छ भनेर कसले सोचेको थियो र ? त्यसैले त भनिन्छ, फुटबल अनिश्चितताको खेल हो र आज सबैभन्दा बलियो देखिएको फ्रान्स पनि कुनै एउटा खराब दिनमा नराम्रोसँग चिप्लिन सक्छ ।
अब राउन्ड अफ १६ मा फ्रान्सले जर्मनीको सातो खाने तिनै पाराग्वेको सामना गर्दैछ । दक्षिण अमेरिकी टोलीहरूको कडा, शारीरिक र एग्रेसिभ ट्याकलले फ्रान्सेली खेलाडीको लय र दिमाग दुवै बिथोल्न सक्छ । अगाडि बढ्दै जाँदा सेमिफाइनलमा स्पेन वा पोर्चुगलसँग भेट हुन सक्छ । स्पेनजस्तो बलमाथि बलियो पकड राख्ने टोलीसँग जम्काभेट भएमा फ्रान्सको यो बुलेट ट्रेनमा ब्रेक पनि लाग्न सक्छ ।
यदि फाइनल पुगिहालेमा साविक विजेता अर्जेन्टिना, ब्राजिल वा इङ्गल्याण्डसँग टक्कर पर्न सक्छ । अब अर्जेन्टिनाका कप्तान जादुगर मस्सीको त कुरै नगरौँ, उमेरले डाँडा काटेपनि एम्बाप्पेभन्दा एक खेल कम खेल्दै गोल संख्यामा बराबरी गरिसकेका छन् ।
अर्जेन्टिनाको सबैभन्दा खतरनाक पक्ष भनेकै कप्तान मेस्सी र प्रशिक्षक लियोनेल स्कालोनीको ‘विनिङ माइन्डसेट’ र टिमको एकता हो । मेस्सीका लागि अर्जेन्टिनाका बाँकी १० जना खेलाडी मैदानमा ज्यान फाल्न पनि तयार हुन्छन्, अनि विपक्षीको रणनीतिलाई केही सेकेन्डमै रिड गरेर खेलको रणनीति बदल्न मेस्सी माहिर छन् । त्यसैले त भनिन्छ– यदि मेस्सी मैदानमा छन् भने खेलको अन्तिम एक मिनेटसम्म पनि आश जीवितै रहन्छ ।
उता सर्वाधिक पाँच पटकको विश्व च्याम्पियन ब्राजिल पनि के कम छ र ! सन् १९३० मा विश्वकप सुरु भएयता हरेक संस्करण खेल्ने एकमात्र देश ब्राजिल विगत २४ वर्षदेखि उपाधिको भोको छ, त्यसैले उसलाई कमजोर आँक्ने गल्ती कसैले गर्दैन । यता ६० वर्षदेखि ट्रफीको खोजीमा भौंतारिरहेको इङ्गल्याण्ड नै फाइनलमा भेट भयो भने पनि उसले फ्रान्सको सातो लिन कसर बाँकी राख्ने छैन ।
फ्रान्स हालको वल्र्डकपमा सबैभन्दा सन्तुलित र बलियो टोली हो, यसमा कसैको दुई मत छैन । जसलाई रोक्न विपक्षीले आफ्नो इतिहासकै सर्वोत्कृष्ट खेल खेल्नुपर्ने हुन्छ । तर, फुटबलमा जुनसुकै बेला जे पनि हुन सक्छ । स्पेन, अर्जेन्टिना वा ब्रजिलजस्ता टोलीहरू चुनौती बनेर उभिन सक्ने भएकाले फ्रान्सका लागि उपाधि यात्रा भने सहज देखिँदैन ।














