काठमाडौं । अमेरिका फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । सान फ्रान्सिस्को बे एरिया स्टेडियममा बिहीबार भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई २-० ले पराजित गर्दै अमेरिकाले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

अमेरिकाको जितमा फोलारिन बालोगुन र मलिक टिलम्यानले एकएक गोल गरे । ४५औँ मिनेटमा फोलारिन बालोगुनले गोल गर्दै अमेरिकालाई पहिलो अग्रता दिलाएका थिए । अमेरिकाले ८२औँ मिनेटमा अर्को गोल थप्यो । टिलम्यानले डिबक्सभन्दा केही बाहिरबाट फ्रिकिकमार्फत प्रहार गरेको बल सिधै बोस्नियाको गोलपोष्ट छि¥यो । त्यसपछि गोल हुन सकेन र अमेरिका २-० ले विजयी भयो ।
अमेरिकाले २४ वर्षपछि विश्वकपको नकआउट चरणमा जित निकालेको छ । यसअघि सन् २००२ मा भएको विश्वकपमा अमेरिका क्वार्टरफाइनलसम्म पुगेको थियो । त्यसयता दोस्रो चरणबाट बाहिरिँदै आएको थियो । योसँगै सबै आयोजक राष्ट्र अन्तिम १६ मा प्रवेश गरेका छन् । मेक्सिको र क्यानडाले यसअघि नै अन्तिम १६ मा स्थान बनाइसकेका थिए । अब क्वार्टरफाइनल प्रवेशका लागि अमेरिकाले बेल्जियमसँग खेल्नेछ ।














