
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियता र संविधानको रक्षा गर्न नसकेको आरोप लगाउँदै उनलेपदबाट राजीनामा दिँदा राम्रो हुने बताएका छन्।
बिहीबार आजपाको सचिवालय बैठकलाई सम्बोधन गर्दै साहले राष्ट्रपति पौडेलले पदीय गरिमा कायम राख्न नसकेको र वर्तमान सरकारको ‘रबरस्ट्याम्प’ बनेको आरोप लगाए ।
उनले जेनजी आन्दोलनका बेला राष्ट्रपति पौडेलले संसद् जोगाउन नसकेको र संविधानको संरक्षक हुँदाहुँदै संविधान मिचेर सुशीला कार्कीको नेतृत्वमा सरकार गठन गरिएको आरोप लगाए ।
साहले विदेशी नागरिकलाई नेपालमा सरकारी जागिर र वंशजको नागरिकता दिने व्यवस्था राष्ट्रिय हितविपरीत रहेको दाबी गर्दै यस्ता विषयमा राष्ट्रपति वर्तमान सरकारको सारथी बनेको आरोप लगाए ।
राष्ट्रपति पौडेलले असार ११ गते वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गरेपछि साहले त्यसको विरोध गर्दै राष्ट्रपतिले राष्ट्रियताको रक्षा गर्न नसकेको आरोप लगाएका हुन् । उनका अनुसार उक्त विधेयक लागू भएपछि कोषको कार्यकारी अधिकृत (सीईओ) विदेशी नागरिक पनि हुन सक्नेछन् ।
साहले राष्ट्रपति पौडेलले आफूले लिएको शपथको मर्यादासमेत जोगाउन नसकेको र सरकारको दबाबमा निरीह बनेको टिप्पणी गरे ।
उनले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरिएको विषयमा पनि प्रश्न उठाउँदै विधिसम्मत नियुक्त भएका व्यक्तिहरूलाई हटाउने सरकारको कदममा राष्ट्रपति साक्षी बनेको आरोप लगाए ।
यस्तै, सरकारले दरबार हत्याकाण्डको छानबिन गर्ने निर्णय गरेको उल्लेख गर्दै साहले उक्त घटना हुँदा तत्कालीन गृहमन्त्रीको जिम्मेवारीमा रहेका कारण नैतिकताका आधारमा पनि राष्ट्रपति पौडेलले राजीनामा दिनु उचित हुने धारणा राखे ।
संसद्को अधिवेशन आह्वान गरेपछि अधिवेशन सुरु हुनुअघि नै स्थगित गरेर अध्यादेश ल्याउँदा पनि राष्ट्रपति मौन बसेको आरोप लगाउँदै साहले राष्ट्रपति पदबाट अलग भए देश र जनताको हित हुने दाबी गरे ।














