काठमाडौं । आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी कञ्चनपुरको दोधारा९चाँदनीमा १७५ मिलिमिटर वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो अभिलेखअनुसार कञ्चनपुरपछि कपिलवस्तुमा ११८ मिलिमिटर वर्षा भएको छ । काठमाडौंमा पनि भारी नजिक वर्षा भएको छ । विभागका अनुसार काठमाडौंको नागर्जुन क्षेत्रमा ४६ दशमलव दुई मिलिमिटर वर्षा भएको छ ।
त्यस्तै सुन्दरीजलमा ४२ दशमलव आठ, कपन र बबरमहल क्षेत्रमा ३५/३५ र बूढानीलकण्ठमा १५ मिलिमिटर वर्षा भएको छ । ललितपुर र भक्तपुरमा भने मध्यम मात्रै वर्षा भएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए । उनका अनुसार कास्की र दाङमा पनि भारी वर्षा भएको छ । आज काठमाडौंमा भएको वर्षाका कारण कतिपय ठाउँ जलमग्न भएका छन् ।
अहिले पनि सडकमा पानी जमेकाले यात्रुले सहज रूपमा यातायातका साधन साउन नसकेका भन्दै आवागमन सहज बनाउन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए । केहीबेर अघि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी गरी अविरल वर्षाका कारण उपत्यकाका विभिन्न सडकखण्डमा पानी जम्न गई सवारी आवागमन प्रभावित भएको जानकारी दिएको छ ।
प्रतिकूल मौसममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नागरिकको सहजताका निरन्तर सडकमा खटिइ सवारी आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन जिम्मेवारी निर्वाह गरिरहेका छन् । यसैबीच, यात्राका क्रममा आवश्यक सजगता अपनाउन र सुरक्षित रहन कार्यालयले सबैमा अनुरोध गरेको छ ।














