काठमाडौं । नेकपा एमालेले रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारको १०० दिनको समीक्षा गरेको छ । महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै बालेन सरकारको सय दिनको वाचा र यथार्थको समीक्षा गरेको हो।

एमालेले सरकारको १०० दिनको परिणामलाई विश्लेषण गर्दा, अत्यन्त फितलो, अपरिपक्व र विवादास्पद भएको निष्कर्ष निकालेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘बालेन-सरकारको १०० दिने कार्यकाल सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्णतः असफल देखिन्छ । प्रधानमन्त्री र मन्त्रीका निजी सचिवालयहरू नै आर्थिक स्वार्थ र भ्रष्टाचारका घटनाहरूमा खुलेआम जोडिएका प्रमाणहरू एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन् ।’
आफ्नो १०० बुँदे वाचापत्र र आमजनताको अपेक्षाअनुरूप काम गर्नुको साटो सस्तो चर्चा र विवादास्पद निर्णयहरूमा मात्रै सरकारको रुचि देखिएको उल्लेख छ।
बिहानीले दिनको संकेत गर्छ भनेझैँ सय दिनको सरकारको कामले मुलुकको आर्थिक संकट समाधान गर्न र विधिको शासन कायम गर्न सरकार पूर्णरुपमा असफल साबित भएको एमालेको निष्कर्ष छ।



















