Logo
Logo

सामाजिक सुरक्षा भत्ता : ४० वर्ष उमेर पूरा भई विवाह नगरेकालाई पनि भत्ता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ मंसिर । सरकारले सामाजिक सुरक्षा भत्तामा नयाँ व्यवस्था गरेको छ । नयाँ व्यवस्थाअनुसार अब ४० वर्ष उमेर पूरा भई विवाह नगरेका एकल महिलाले समेत सामाजिक सुरक्षा भत्ता पाउनेछन् ।
सरकारले अध्यादेशमार्फत ६० वर्षमुनिका विधवा, एकल महिला, अपांगता भएका व्यक्ति र विदेशबाट निवृत्तिभरण प्राप्त गर्नेहरुले पनि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नयाँ व्यवस्था गरेको छ । सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरी सामाजिक सुरक्षा भत्ता वितरणमा रहेको अन्योललाई सरकारले स्पष्ट गरेको छ ।
बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सामाजिक सुरक्षा भत्ताको नयाँ व्यवस्थाबारे जानकारी गराएका हुन् । अध्यादेश जारी भएपछि ६० वर्षमुनिका तीन लाख ३६ हजार ७०३ जना विधवा, एकल महिला लाभग्राही लाभान्वित हुने छन् । उनीहरूका लागि करिब आठ अर्ब ८ करोड रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण हुने बताइएको छ ।
सरकारका प्रवक्ता समेत रहेका गुरुङका अनुसार सम्बन्धविच्छेद गरी अर्को विवाह नगरेका, न्यायिक पृथकीकरण गरी बसेका वा ४० वर्ष उमेर पूरा भई विवाह नगरेका एकल महिलालाई सामाजिक सुरक्षा भत्ता वितरणका लागि बाटो खुलेको छ । त्यसका लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको भन्दा न्यून आय भएका र पालनपोषण तथा हेरचाह गर्ने परिवारको कुनै सदस्य नभएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्न सकिनेछ ।
‘ख’ वर्गको परिचयपत्र प्राप्त गरेका ९१ हजार ५७९ जना अति अशक्त अपांगता भएका लाभग्राही सो निर्णयबाट लाभान्वित भएका छन् । ‘ख’ वर्गका लाभग्राहीले एक अर्ब ८७ करोड ३५ लाख रुपियाँ सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्