Logo
Logo

पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा


189
Shares

मुस्ताङ । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक आयोजनाको अनुगमन तथा निरीक्षणका लागि पूर्वाधार विकासमन्त्री सुनिल लम्साल मुस्ताङ पुगेका छन् ।

The current image has no alternative text. The file name is: sunil-lamsal.jpg

शुक्रवार बेनी-जोमसोम सडकमार्ग हुँदै मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेमा बास बसेका मन्त्री लम्सालसँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल (गणेश), मन्त्रालय र विभिन्न विभागका प्रतिनिधि पनि रहेका छन् । 

कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार कोरला सडकको निरीक्षण तथा पर्यटनलगायतका विषयमा जानकारी लिने उद्देश्यले टोली मुस्ताङ आएको हो ।  

त्यस अवसरमा पूर्वप्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनको उपस्थितिमा जोमसोम-कोरला सडकमा आवश्यक पर्ने पूर्वाधार निर्माणलगायतका विषयमा छलफल भएको छ। छलफलमा मन्त्री लम्सालले कोरला सडकखण्डमा पर्ने पाँच वटा सडक पुल निर्माणलाई ठेक्का प्रक्रियामा लैजान निर्देशन दिएका छन् । 

आयोजना प्रमुख तेजस्वी शर्माले जोमसोम–कोरला सडकअन्तर्गत जोमसोम–कागबेनी सडकको थप स्तरोन्नति तथा कागबेनी–छुसाङ सडकखण्डमा कालोपत्र निर्माणको प्रगतिबारे मन्त्री लम्साललाई जानकारी गराएका छन् । 

सरकारले कोरला सडकअन्तर्गत मुस्ताङको छुसाङदेखि घमीसम्मको ५० किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रका लागि तीन अर्ब १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । कोरला नाकासम्मको सडकको प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न भइसकेकाले नाकासम्मको सडक स्तरोन्नति तथा कालोपत्रको काम शीघ्र अघि बढाउनुपर्ने आवश्यकता रहेको विषयमा मन्त्री लम्सालको ध्यानाकर्षण गराइएको थियो ।  

मन्त्री लम्सालसहितको टोलीले कोरला सडक आयोजना क्षेत्रका विभिन्न स्थानको स्थलगत अनुगमन तथा निरीक्षण गर्दै सडक, पुलपुलेसा र अन्य पूर्वाधारको अवस्थाबारे स्थानीयसँग जानकारी लिएको छ । स्थानीयले कालिगण्डकी नदीको कटान, बाढी र पहिरोका कारण कोरला सडक, पुलपुलेसा तथा अन्य संरचनामा बर्सेनि क्षति पुग्ने जोखिम रहेको जानकारी गराएका छन् । 

प्रतिक्रिया दिनुहोस्