Logo
Logo

पाइपलाइनबाट एक वर्षभित्रै पेट्रोल पनि ल्याइने


- दृष्टि न्युज/संवाददाता


वीरगञ्ज, २५ मंसिर । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनबाट एक वर्षभित्र पेट्रोल ल्याउन गृहकार्य शुरुआत गरिएको छ । यसअघि २०७६ भदौदेखि भारतको मोतिहारीबाट पाइप लाइनमार्फत अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपोमा डिजल ल्याउन थालिएको हो । अब एक वर्षभित्र सोही पाइप लाइनमार्फत पेट्रोल ल्याउन गृहकार्य सुुरु गरिएको हो ।
निगमको सञ्चालक समितिले मोतिहारीबाट पेट्रोल पनि ल्याउन निगमलाई स्वीकृति दिएपछि काम अगाडि बढाइएको र यसका लागि भारतीय आयल निगम (आइओसी)सँगकुराकानी भइरहेको निगम प्रदेश नं २ को प्रादेशिक कार्यालय अमलेखगञ्ज बाराले जनाएको छ ।
कार्यालय प्रमुख भरत रेग्मीका अनुसार ४२ लाख लिटर पेट्रोल भण्डारण गर्ने क्षमताको दुईवटा पेट्रोल ट्यांकी अमलेखगञ्ज डिपोमा तयार भइरहेको छ । उनले दुई ट्यांकीमध्ये एउटा ट्यांकी भारत सरकारले बनाउन लागेको र एउटा ट्यांकी आयल निगमले आफैँ बनाउने बताए ।
ट्यांकी निर्माण भएपछि एकपटकमा २४ ट्यांकरमा स्वचालित उपकरणबाट तेल हाल्न सकिने छ । ट्यांकी आगो नलागोस् भनेर तथा आगो लागेपछि सो आगो निभाउन ३०÷३० लाख गरी पानी भण्डारण गर्ने दुईवटा ट्यांकी तयार हुनेछ ।
नेपाल सरकारको करिव रु दुई अर्ब को लागतमा निर्माण भइरहेको सो पाइप लाइनमा अन्तर्राष्ट्रिय गुणस्तरको पाइप जडान गरिएको छ । साथै निर्माण भइरहेको पेट्रोल ट्यांकरमा स्वचालित उपकरणबाट जाँच गर्न सकिने जनाइएको छ ।
पाइप लाइनमा पेट्रोल ल्याउन मोतिहारीतर्फ काम सम्पन्न भइसकेको बताइएको छ । भारतीय आयल कर्पोरेशन लिमिटेडले मोतिहारीमा भर्टिकल ट्यांक निर्माण गर्ने काम शुरु गरेको छ । अमलेखगञ्जस्थित निगमको कार्यालयमा पेट्रोल आपूर्ति गर्नका आवश्यक पर्ने पूर्वाधारको काम अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्