काठमाडौं । आफ्नै मन्त्रिपरिषदको सदस्यलाई खोज्न प्रहरी परिचालन गर्नुपर्यो भन्दा जोकोहीलाई अनौठो लाग्न सक्छ, तर बालेन नेतृत्वको सरकारमा यो कुनै अनौठा कुरा होइन, उनको ‘मुड’मा भर पर्ने कुरा हो । नेपालको राजनीतिमा केही दिनअघि यस्तै अनौठो घट्ना भएको छ । निकै गोप्य राखिएको यो घट्नाले सत्तारुढ दल रास्वपाभित्र निकै तरंग समेत ल्यायो ।

यो घट्ना असार १७ गते साँझको हो । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि काठमाडौं, लगायत देशभरका अधिकांश पेट्रोल पम्प बन्द भए । बढी मूल्यमा पेट्रोल किनेर सस्तोमा बेच्नुपरेको भन्दै पेट्रोल पम्प सञ्चालकहरूले पम्प नै बन्द गरे ।
यो समाचार फैलिएपछि प्रधानमन्त्री बालेन्द्र साहले उद्योगमन्त्री गौरीकुमारी यादवले कमिशन खाएर पेट्रोल पम्प बन्द गर्न लगाएको गलत सूचना पाएपछि मन्त्रीको कार्यकक्षमा उनलाई पक्राउ गर्न प्रहरी पठाए । मन्त्रालयमै प्रहरी परिचालन गर्नुपर्ने विषयले एक्कासी प्रहरी प्रधानकार्यालय समेत तात्यो, कारण खोज्यो तर पत्ता लाग्न सकेन ।
स्रोतका अनुसार अख्तियारमा रहेका प्रहरी सेट परिवर्तन गर्न छलफल भइरहेको बेला प्रहरी प्रधानकार्यालयमा एक्कासी उद्योगमन्त्रीलाई खोजेर प्रधानमन्त्री कार्यालयमा हाजिर गराउनुपर्ने अवस्था सिर्जना भयो । यो विषय गृहमन्त्री र उद्योगमन्त्रीको तर्फबाट पार्टी सभापति रवि लामिछाने समक्ष पुग्यो ।
गत असार १७ गते नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि प्रधानमन्त्री कार्यालयमा ठूलै चर्चा भयो । स्वचालित मूल्य निर्धारणअनुसार मूल्य घटेपछि प्रधानमन्त्री बालेन्द्र साहले आफूलाई नसोधी किन मूल्य घटाएको र पेट्रोलपम्प किन बन्द गराएको भन्दै उद्योगमन्त्री यादवसँग आक्रोशित बने ।
रिसको झोंकमा उनले मन्त्री यादवलाई फोन गरेर बोलाउनुको साटो पक्राउ गरेरै ल्याउनु भन्दै गृहमन्त्री सुधन गुरुङलाई निर्देशन दिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीलाई परिचालन गरियो । अचानक प्रहरी मन्त्री यादवको कार्यकक्षमा पुग्दा उनी भने पेट्रोलपम्प किन बन्द भए भनेर जानकारी लिँदै थिइन् ।
प्रहरी मन्त्री यादवको कार्यकक्षमा पुग्दा रास्वपाका सभापति रवि लामिछानेले यस्तो प्रवृत्तिलाई रोक्नुपर्छ भन्दै प्रधानमन्त्रीका स्वकीयसचिव कुमार बेनलाई फोन गरेर झपारेका थिए । ‘सरकारी काममा रहेका मन्त्रीलाई प्रधानमन्त्री आफैले बोलाएर सोध्न सकिने विषयमा पनि प्रहरीको दुरुपयोग हदभन्दा बढी भयो’, लामिछानेले भनेका थिए । त्यसपछि उनी पक्राउ पर्नबाट जोगिएको स्रोतले जनाएको छ ।
असार १७ गते पम्पहरू बन्द गरिएपछि डिजेल र पेट्रोल लिन पम्पमा पुगेका उपभोक्ताहरू रित्तै हात फर्किन बाध्य बनेका थिए । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर रु २० तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु ३० ले मूल्य घटाएको छ । यो बीचमा उद्योग मन्त्री गौरी कुमारी यादवको सम्पत्ति विवरण माथि पनि प्रधानमन्त्रीको स्वकीय सचिवालयले शंका गरेको छ ।
उनको काठमाडौँ र महोत्तरीमा अथाह जग्गा जमिन, १८० तोला सुन, करोडौँको लगानी र बैंक मौज्दात रहेको देखिएपछि सचिवालयले शंका गर्दै आएको छ । मन्त्री यादवको काठमाडौँ महानगरपालिका वडा नम्बर ९ मा १ रोपनी १ आना २ दाममा तीनतले घर रहेको छ ।
त्यस्तै, काठमाडौँ–१० मा १४ आना जग्गा, सोही वडामा अर्को ठाउँमा ७ आना एक पैसा २ दाम जग्गा र फेरि सोही वडामा ९ आना १ पैसा तीन दाम जग्गा पनि उनको नाममा रहेको उल्लेख छ ।
महोत्तरी जिल्लातर्फ, बर्दिबास नगरपालिकामा १४ कठ्ठा, बर्दिबासमै अर्को ठाउँमा १५ कठ्ठा, र बर्दिबासका अन्य दुई ठाउँमा साढे ६ बिघा जग्गा रहेको उनले जनाएकी छन् । यसका साथै, महोत्तरीकै सम्सीमा १ कठ्ठा र मनरासिस्वा नगरपालिकामा एउटा पोखरी पनि उनको नाममा रहेको विवरणमा देखिन्छ । मन्त्री यादवले ३० वर्षअघि खरिद गरेको भनिएको १८० तोला सुन, दुई किलो चाँदी र २ सेट अर्थात् चार रिङ हिराको गहना पनि आफ्नो सम्पत्तिको रूपमा खुलाएकी थिइन् ।
बैंक तथा वित्तीय संस्थामा उनको चार लाख रुपैयाँ, सिद्धार्थ बैंकमा एक लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकमा २ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकमा डेढ लाख रुपैयाँ, सिभीआइसीमा डेढ लाख रुपैयाँ मनमोहन स्वास्थ्य सहकारीमा रहेको देखिन्छ । यसका अतिरिक्त, विभिन्न कम्पनीमा ३ करोड ३८ लाख रुपैयाँ लगानी रहेको पनि उनको विवरणमा उल्लेख छ ।
सम्पत्ति मात्र नभई, मन्त्री यादवले ऋणको विवरण पनि सार्वजनिक गरेकी छन् । शिवजी यादवको नाममा १ करोड ६० लाख रुपैयाँ ऋण रहेको उनले उल्लेख गरेकी छन् । त्यस्तै कात्तिक यादवको नाममा १ लाख ८७ हजार रुपैयाँको अटो ऋण रहेको र ५७ लाख रुपैयाँ पर्ने कार पनि सोही नाममा रहेको विवरणमा देखिन्छ ।यसका अतिरिक्त उनले ३३२ कित्ता जग्गा बिग मार्टलाई लिजमा दिएको र त्यसबाट मासिक ९० हजार रुपैयाँ भाडा प्राप्त भइरहेको पनि सम्पत्ति विवरणमा खुलाएकी छन् । उनी महोत्तरी–४ बाट निर्वाचित सांसद हुन् ।














