Logo
Logo

रोनाल्डो र नेयमार ‘आउट’, अब के गर्लान् मेस्सी ? (भिडियोसहित)


63
Shares

काठमाडौं । फिफा विश्वकप जित–हारको प्रतियोगिता मात्र होइन, एउटा उत्कृष्ट पुस्ताका ‘लेजेन्ड’हरूको युग समाप्त हुने मञ्च पनि बन्दै गएको छ । एकपछि अर्को गर्दै महान् खेलाडीहरूले विश्वकपबाट भावुक बिदाइ लिइरहेका छन् । अस्ति लुका मोड्रिच, हिजो नेयमार र आज रोनाल्डोको बिदाइले संसारभरका फुटबलप्रेमीहरूको मन अमिलो बनाएको छ । अब कुन लेजेन्डको बिदाइ हुने हो र भोलि कसको पालो आउने हो, कसैलाई थाहा छैन ।

रोनाल्डो र नेयमारको यो हविगत देखेपछि अब ब्राजिल र पोर्चुगलका फ्यानहरूले मेस्सीको विश्वकप यात्रा पनि यसैगरी टुङ्गिने त होइन भनेर अडकल काट्न थालेका छन् । संयोग नै मान्नुपर्छ, मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिना आजै मङ्गलवार राति राउन्ड अफ १६ मा इजिप्टसँग भिड्दै छ । नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुने यो खेल केवल एउटा नकआउट प्रतिस्पर्धा मात्रै होइन, दुई सुपरस्टार मेस्सी र मोहम्मद सालाहमध्ये एक जनाको विश्वकप यात्रामा पूर्णविराम लाग्ने रात पनि हो । अब प्रश्न एउटै मात्र बाँकी छ– यो भावुक बिदाइ कसको भागमा पर्नेछ ? मेस्सीको कि सालाहको ? यसको उत्तर त खेल सकिएपछि मात्रै मिल्नेछ र त्यसको विश्लेषण हामी खेलपछि नै गर्नेछौँ । अहिलेलाई भने विश्व फुटबलका ती सर्वकालीन महानायक रोनाल्डोको विश्वकप यात्रा कसरी समाप्त भयो, त्यतातिरै जाऔँ ।

पोर्चुगलको यो विश्वकप यात्रा सुरुआतदेखि नै निकै धर्मराएको थियो । पहिलो खेलमै कमजोर मानिएको डिआर कंगोसँग १–१ को बराबरीमा रोकिँदा धेरैले ‘यस्तो टिमले पनि कतै विश्वकप जित्छ र ? भन्दै खिसिट्युरी गरे । तर, दोस्रो खेलमा उज्वेकिस्तानमाथि रिस फेरेझैँ पाँच–पाँच गोल ठोकेपछि आलोचकहरूको मुखमा बुझो लाग्यो ।

तर त्यो खुसी धेरै टिकेन । समूह चरणको अन्तिम खेलमा कोलम्बियाले गोलरहित बराबरीमा रोकिदिएपछि पोर्चुगलको यात्रा केही सजिलो बाटोबाट मोडिएर एकदमै अप्ठ्यारो मोडतिर सोझियो । यदि पोर्चुगल समूह विजेता बनेको भए समीकरण अर्कै हुन्थ्यो । पोर्चुगल अर्जेन्टिना र ब्राजिल भएको ब्राकेटमा पर्थे र राउन्ड अफ १६ मा बलियो स्पेनको साटो तुलनात्मक रूपमा सजिलो टोली स्विट्जरल्यान्डसँग भिड्नुपथ्र्यो । तर, भाग्यले पोर्चुगललाई सिधै बलियो स्पेनको अगाडि उभ्याइदियो ।

वास्तवमा, राउन्ड अफ ३२ मै पोर्चुगल झण्डै प्याक भइसकेको थियो । क्रोएसियाविरुद्ध १–० ले पछि पर्दा समर्थकहरूको सातो गइसकेको थियो । तर अन्तिम सिट्टी नबज्दासम्म हार नमान्ने आफ्नै शैली ब्युँताउँदै पोर्चुगलले खेल २–१ ले उल्ट्यायो । इन्जुरी समयमा गोन्कालो रामोसले गरेको त्यो निर्णायक गोलले टिमलाई जेनतेन राउन्ड अफ १६ मा त पु¥यायो, तर त्यहाँभन्दा अघि बढ्न नियतिले दिएन ।

राउन्ड अफ १६ मा पोर्चुगलले स्पेनको सामना गर्नुप¥यो, १–० गोल अन्तरले पराजित हुन प¥यो । डलासमा भएको त्यो खेलमा दुवै टोलीले कडा टक्कर त दिए, तर अतिरिक्त समयको पनि इन्जुरी समयमा मिकेल मेरिनोले गरेको गोल पोर्चुगलका लागि बज्रपात बन्यो । पराजित भएसँगै सुपरस्टार रोनाल्डोको अन्तिम विश्वकप यात्रा पीडादायीमा टुङ्गियो । खेल सकिएपछि मैदानमै रोनाल्डोले आँसु झारेको त्यो दृश्यले संसारभरका फुटबल फ्यानहरूको मन रोयो, र विश्वकप ट्रफी चुम्ने उनको सपना सदाका लागि अधुरै रह्यो ।

रोनाल्डो कुनै चानचुने नाम होइन, उनी फुटबल इतिहासकै एउटा जिउँदो इतिहास हुन् । लगातार ६ वटा विश्वकपमा गोल गर्ने एक्लो कीर्तिमान बोकेका यी महानायक आफ्नो अन्तिम विश्वकपको ‘राउन्ड अफ १६’ बाटै बिदा हुनुप¥यो । स्पेनले पोर्चुगललाई हराएर नेसन्स लिगको पुरानो बदला मात्र लिएन, फुटबलमा एउटा नयाँ इतिहास पनि लेखिदियो । यो केवल एउटा खेलको जित मात्र थिएन, यो त एउटा लेजेन्डमाथि भविष्यको जित थियो । अर्थात्, रोनाल्डोमाथि लामिन यामालको जित थियो । एउटा संयोग के छ भने रोनाल्डोले विश्वकपमा डेब्यु गरिसक्दा यामाल यो संसारमै आइसकेका थिएनन् ! रोनाल्डोले २००६ मा विश्वकप खेलिसकेका थिए, जबकि यामाल त्यसको एक वर्षपछि अर्थात् २००७ मा मात्र जन्मिएका थिए । आफ्नो छोरा पुस्तासँग रोनाल्डो पराजित हुन पुग्नुले के प्रस्ट पार्छ भने अब नयाँ पुस्ताको साम्राज्य सुरु भइसकेको छ ।

संसारभरका करोडौं फुटबलप्रेमीहरू चाहन्थे– रोनाल्डोले आफ्नो अन्तिम विश्वकपको मैदानबाट आँसु झार्दै बाहिरिनु नपरोस् । फुटबल मैदानमा दुई दशकसम्म एकाधिकार जमाएका यी नायकले विश्वकपको ट्रफी उचालेको हेर्ने रहर फुटबल रुचाउने हरेकको थियो, चाहे त्यो मेस्सीको ‘डाइहार्ड फ्यान’ नै किन नहोस् । तर खेल न हो, आफूले सोचेजस्तो कहाँ हुन्छ र ! पाँच पटकका बालोन डीओर, पाँच पटककै च्याम्पियन्स लिग विजेता र विश्व फुटबलमा सार्वधिक गोलकर्ताले देशको लागि विश्वकपको ट्रफी भने दिलाउन सकेनन् । सन् २००६ मा सेमिफाइनलसम्म पुग्नु नै उनको विश्वकप इतिहासको सबैभन्दा ठूलो उपलब्धि बनेर रह्यो ।

सन् २००६ मा एउटा फुर्तिलो ठिटोका रूपमा विश्वकप डेब्यु गर्दा रोनाल्डोसँग अद्भूत जोश र दिग्गजहरूको साथ थियो । तर, सन् २०२६ को यो विश्वकपसम्म आइपुग्दा परिदृश्य पूरै बदलियो । ६ वटै विश्वकपमा गोल गर्ने विश्वकै एकमात्र खेलाडीको कीर्तिमान त बन्यो, तर त्यो सुनौलो ट्रफी जित्ने सपना कहिल्यै पूरा भएन । खेल सकिएपछि सन्यासको कुरामा उनले ‘अब परिवारसँग बसेर शान्त मनले निर्णय लिन्छु’ भन्दै भावुक संकेत गरे ।

हुन त रोनाल्डोको चर्चा चल्दा उनका चीरप्रतिद्वन्द्वी मेस्सीको प्रसंग आफैँ आइहाल्छ । एकातिर रोनाल्डो विश्वकपको फाइनलसम्म पनि पुग्न सकेनन्, अर्कोतिर मेस्सीले विश्वकपको ट्रफी नै उचालेर गोटको बहसलाई लगभग टुङ्ग्याइदिए । रोनाल्डोका फ्यानहरूका लागि मुटुमा बिझाउने सबैभन्दा ठूलो काँडा सायद यही नै होला ।

रोनाल्डोको खेलको जति तारिफ हुन्छ, उनको ‘म नै सर्वश्रेष्ठ हुँ’ भन्ने स्वभावको आलोचना पनि उत्तिकै हुन्छ । करियरको उत्तरार्धमा उनको यही आत्मविश्वास कताकता अहंकार जस्तो देखियो र टोलीको हितभन्दा व्यक्तिगत कीर्तिमानलाई बढी प्राथमिकता दिएको आरोप पनि लाग्यो । तर, एउटा कुरा के सत्य हो भने, यदि उनीभित्र त्यो भोक, त्यो जिद्दीपन र पागलपन नभएको भए मडेइराको एउटा सामान्य केटो आज विश्वकै चर्चित ‘सीआर सेभेन’ बन्ने थिएनन् ।

विश्वकपको ट्रफी नजित्दैमा रोनाल्डोको महानता कत्ति पनि कम हुँदैन । फुटबलले उनलाई एउटा सुनौलो ट्रफी दिएन होला, तर उनले फुटबललाई जे दिए, त्यो कुनै पनि ट्रफीभन्दा धेरै मूल्यवान् छ, त्यो हो– ‘कडा मिहिनेत र कहिल्यै हार नमान्ने एटिट्युड ।’ पोर्चुगलको लागि ट्रफी त भोलि अरू कसैले पनि जित्ला, तर संसारले अर्को सीआर सेभेन कहिल्यै पाउने छैन ।

यो विश्वकप केवल रोनाल्डोका लागि मात्र बिझाउने रहेन, हिजो मात्रै अर्का ब्राजिलियन जादुगर नेयमारको बिदाइले पनि लाखौँ फ्यानको मुटु छियाछिया बनायो । चोट र लगातारको पराजयको त्यो गहिरो पीडा सहन नसकेर उनले त अन्तर्राष्ट्रिय फुटबलबाटै सन्यासको घोषणा गरिदिए । खेल सकिनेबित्तिकै मैदानमै भक्कानिएर रोएका नेयमारलाई टिममेटले उठाएर सम्झाउने र सान्त्वना दिने प्रयास त गरे, तर उनको आँसु थामिने नामै लिइरहेको थिएन । उता, क्रोएसियाका जादुमयी मिडफिल्डर लुका मोड्रिचको नियति पनि कहाँ फरक भयो र ! राउन्ड अफ ३२ मा पोर्चुगलसँग २–१ ले पराजित भएपछि उनको पनि आँसुले भरिएको भावुक बिदाइ भयो ।

एकातिर यसरी स्थापित लेजेन्डहरूको एकपछि अर्को गर्दै पीडादायी बिदाइ भइरहेको छ भने, अर्कोतिर एर्लिङ हालान्ड र लामिन यामलजस्ता तन्नेरी स्टारहरूको जबर्जस्त उदय भइरहेको छ । यसले विश्व फुटबलमा पुस्तान्तरण भइरहेको कुरा छर्लङ्ग पार्छ । तर यहाँनिर एउटा टड्कारो प्रश्न उठ्छ– के अब फेरि फुटबल इतिहासमा ‘मेस्सी भर्सेस रोनाल्डो’ जस्तो अर्को कुनै ऐतिहासिक टक्कर देख्न पाइएला ? के यी नयाँ उदीयमान खेलाडीहरूले मेस्सी र रोनाल्डोले जस्तै लगातार दुई दशकसम्म विश्व फुटबलमा साम्राज्य खडा गर्न सक्लान् ? यसको जवाफ त भविष्यले देला नै, तर फुटबलको त्यो सुनौलो युगलाई माथ दिन अब आउने पुस्तालाई फलामको चिउरा चपाउनु सरह हुनेछ ।

भिडियो-

प्रतिक्रिया दिनुहोस्