काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद हरिनादेवी कामीले होल्डिङ सेन्टरमा आश्रय लिइरहेको सुकुम्वासीहरूलाई ५ दिनभित्र हटाउने अमानवीय अल्टिमेटम तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकको सुरुमा बोल्दै उनले उक्त माग गरेकी हुन् । सांसद कामीले सरकारले सुकुम्वासीहरूको समस्या समाधानका लागि तत्काल कार्य योजना सार्वजनिक गर्नुपर्ने पनि बताइन् । सरकारले सुकुम्वासीहरूको समस्या नगद बाँडेर अस्थायी रूपमा समाधान गर्न खोज्न नहुने पनि उनको भनाइ रहेको छ । उनले उनीहरूलाई सुरक्षित आवाससहितको व्यवस्था सरकारले गर्नुपर्ने बताइन् ।
उनले भनिनन् ,‘५ दिन भित्र आश्रय खाली गर्न दिइएको अल्टिमेटम फिर्ता लिइयोस् । लगतबाट छुटेका वास्तविक सुकुम्वासीको निष्पक्ष पहिचान गरी उनीहरूलाई पनि सम्मानसहित राहतको व्यवस्था गरियोस् । अर्का अस्थायी रूपमा नगद बाँडेर जिम्मेवारीबाट पन्छिने होइन, उनीहरूलाई सुरक्षित आवास र दीर्घकालीन समाधानको कार्य योजना तत्काल सार्वजनिक गरियोस् । त्यस अवसरमा सांसद कामीले प्रधानमन्त्री बालेन्द्र साह संसद्प्रति जबाफदेही नभएको भन्दै आक्रोश समेत व्यक्त गरिन् ।














