Logo
Logo

मैदानमा म्याराडोनाको ‘इख’ र फकल्यान्ड युद्धको धङधङी, अर्को महासङ्ग्रामको काउन्टडाउन !


63
Shares

काठमाडौं । मैदानमा खेलिरहेको छ अर्जेन्टिना, रोइरहेको छ इजिप्ट–तर आँसु पुछ्न र आक्रोश पोख्न हतारिइरहेका छन् बेलायती मिडिया! विश्वकपको सम्भावित सेमिफाइनलमा इङ्ग्ल्यान्ड र अर्जेन्टिना भिड्ने छाँटकाँट देखिएपछि बेलायती सञ्चारमाध्यमहरू अहिलेदेखि नै मैदानबाहिरको युद्धमा उत्रिएका छन् । यदि सेमिफाइनलमा इङ्ग्ल्यान्ड र अर्जेन्टिनाको भेट भयो भने त्यो केवल एउटा खेल मात्र हुनेछैन । इतिहास, राजनीति र युद्धको घाउ मिसिँदा फुटबल एउटा महासंग्राममा परिणत हुनेछ ? तर, त्यो कसरी ? आउनुहोस्, यसै विषयमा चर्चा गरौँ । 

The current image has no alternative text. The file name is: 2083-03-25-World-Cup-2026-Argentina-vs-England-THUMBNAIL.jpg

फिफा विश्वकपको क्वार्टरफाइनल सुरु भइसकेको छ । पहिलो क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोलाई २-० ले हराएको छ । अब बाँकी रहेका स्पेन र बेल्जियम, नर्वे र इङ्ग्ल्यान्ड तथा स्विट्जरल्यान्ड र अर्जेन्टिनाबीचका खेलले सेमिफाइनलको चित्र बनाउनेछन् । यी सबै खेलको सरगर्मी एकातिर छ, तर धेरैको ध्यान भने योभन्दा अलि अगाडिको एउटा सम्भावित दृश्यले तानिसकेको छ– त्यो हो सेमिफाइनलमा हुन सक्ने अर्जेन्टिना र इङ्गल्यान्डबीचको महाभिडन्त । यदि त्यसो भयो भने त्यो केवल ९० मिनेटको फुटबल खेल मात्र हुनेछैन । त्यो फकल्यान्ड युद्धको धङधङी, डिएगो म्याराडोनाको ‘ह्यान्ड अफ गड’को स्मृति र बेलायती अखबारका पुराना शीर्षकहरू फेरि ब्युँझिने दिन हुनेछ । अनि त्यो दुई देशबीच चार दशकदेखि बाँकी रहेको राजनीतिक, सांस्कृतिक र भावनात्मक प्रतिस्पर्धाको अर्को अध्याय बन्नेछ ।

विश्वकपमा धेरै खेल र प्रतिस्पर्धाहरू हुन्छन्, तर केही खेल यस्ता हुन्छन् जहाँ स्कोरबोर्डले मात्रै कथा लेख्दैन । इतिहास, राजनीति, राष्ट्रवाद र भावनाले पनि बराबरी भूमिका खेल्छन् । अर्जेन्टिना र इङ्ग्ल्यान्डबीचको सम्भावित भिडन्त त्यही श्रेणीको खेल हुनेछ ।

यसको संकेत अहिलेबाटै देखिन थालेको छ । अर्जेन्टिनाले इजिप्टलाई ३–२ ले हराएपछि खेलभन्दा धेरै चर्चा रेफ्रीको निर्णयले पायो । मोस्ताफा जिकोको गोल भीएआरले फाउल देखाउँदै रद्द गरिदियो भने अन्तिम समयमा मोहम्मद सलाहमाथि भएको सम्भावित फाउलमा पेनाल्टी नदिइएपछि इजिप्ट आक्रोशित बन्यो । त्यसको लगत्तै अर्जेन्टिनाले काउन्टर अट्याकमा विजयी गोल गर्दै क्वार्टरफाइनल यात्रा तय ग¥यो । खेल सकिएपछि इजिप्ट फुटबल संघले फिफामा औपचारिक उजुरी दर्ता गर्दै आफ्नो टोलीमाथि अन्याय र विभेद भएको दाबी ग¥यो र रेफ्री टोलीलाई प्रतियोगिताबाट हटाउनसम्मको माग उठायो । तर फुटबलका जानकारहरू भने भीएआर र रेफ्रीको अन्तिम निर्णयलाई फिफाले उल्टाउने उदाहरण अत्यन्त दुर्लभ भएकाले यसबाट नतिजा बदलिने सम्भावना लगभग शून्य रहेको बताउँछन् ।

तर, मैदानको विवादभन्दा रोचक कुरा त्यसपछि सुरु भयो । इजिप्टभन्दा धेरै आक्रामक शैलीमा बेलायती सञ्चारमाध्यमहरू अर्जेन्टिनामाथि खनिए । बीबीसी स्पोर्टले यसलाई गम्भीर अन्यायको रूपमा प्रस्तुत ग¥यो, द गार्डियनले भीएआरमाथि प्रश्न उठायो र फक्स स्पोट्र्सले निर्णयको निष्पक्षतामाथि बहस गरायो । द सन र डेली मिररले त सामाजिक सञ्जालमा फैलिएको ‘फिफाले अर्जेन्टिनालाई जोगाइरहेको छ’ भन्ने आरोपलाई मुख्य समाचार नै बनाए । अरू धेरै देशका सञ्चारमाध्यमले यो घटनालाई सामान्य रेफ्री विवादका रूपमा हेरे पनि बेलायतमा भने यो विषय अस्वाभाविक रूपमा ठूलो बनाइयो । यसको एउटा मुख्य कारण सम्भावित सेमिफाइनल खेल नै हो । यदि इंग्ल्यान्डले नर्वेलाई र अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई हरायो भने दुई टोलीको भेट निश्चित हुनेछ । ६० वर्षदेखि विश्वकपको ट्रफी उचाल्ने सपना बुनेको इङ्गल्यान्डका लागि अर्जेन्टिना सबैभन्दा ठूलो फलामको चिउरा साबित हुनेवाला छ । त्यसैले बेलायती मिडियाहरू अहिलेदेखि नै अर्जेन्टिनालाई विवादमा तानेर मनोवैज्ञानिक रूपमा कमजोर बनाउन चाहन्छन् । 

यस्तो अवस्थामा सम्भावित प्रतिद्वन्द्वीमाथि मानसिक दबाब सिर्जना गर्ने प्रयास हुनु अस्वाभाविक होइन । खेल सुरु हुनुअघि नै ‘रेफ्रीको साथ पाएको टोली’ भन्ने छवि बनाइदिँदा समर्थकदेखि खेलाडीसम्ममा मनोवैज्ञानिक प्रभाव पर्न सक्छ । आधुनिक फुटबलमा युद्ध मैदानमा मात्र हुँदैन, सञ्चारमाध्यम, सामाजिक सञ्जाल र सार्वजनिक धारणा निर्माण गर्ने प्लेटफर्ममा पनि हुन्छ । तर अर्जेन्टिना र इंग्ल्याण्डको सम्बन्धको कथा केवल यहीँबाट सुरु हुँदैन, यसको जरा सन् १९८२ को फकल्यान्ड युद्धमा पुग्छ । दक्षिण एटलान्टिक महासागरमा रहेको फकल्यान्ड टापुलाई अर्जेन्टिनाले माल्भिनास भन्छ र दुवै देशले यो भूमि आफ्नो भएको दाबी गर्छन् । यही विवादमा यी दुई देशबीच करिब साढे दुई महिना चलेको युद्धमा बेलायतले विजय हासिल ग¥यो र अर्जेन्टिना पराजित भयो । तर, त्यो हारको चोट अर्जेन्टिनी समाजले कहिल्यै बिर्सेन ।

युद्धको चार वर्षपछि विश्वकपमा अर्जेन्टिनाले त्यो चोटको जवाफ फुटबल मैदानमै दियो । सन् १९८६ को मेक्सिको विश्वकपको क्वार्टरफाइनल आज पनि फुटबल इतिहासको सबैभन्दा चर्चित खेलमध्ये एक मानिन्छ । डिएगो म्याराडोनाले हातले गरेको विवादास्पद गोलकै कारण अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । इङ्गल्यान्डका खेलाडीहरूले म्याराडोनाले हातले बल छोएको भन्दै कडा प्रतिवाद गरे पनि रेफ्री र लाइन्सम्यान दुवैले ठम्याउन नसकेका कारण निर्णय परिमार्जन भएन ।

पछि सो गोलबारे सोधिँदा म्याराडोनाले संक्षिप्त जवाफ दिएका थिए– “अलिकति मेरो टाउको र अलिकति भगवानको हात थियो ।“ उक्त गोलको चार मिनेट पनि बित्न नपाउँदै म्याराडोनाले अर्को उत्कृष्ट गोल गरे, जुन पछि शताब्दीकै उत्कृष्ट गोलका रूपमा छानियो । तर, अहिलेसम्म चर्चा भने त्यही हातले गरेको गोलकै बढी हुने गरेको छ । खेल सकिएपछि कप्तान म्याराडोनाले यस जितलाई सन् १९८२ को फकल्यान्ड टापुको युद्धसँग जोडेर भावुक अभिव्यक्ति दिए । युद्धमा इङ्गल्यान्डसँग पराजित भएको पीडा खेपिरहेका अर्जेन्टिनीहरूका लागि खेलमैदानको यो विजय एउटा ठूलो मल्हम र प्रतिशोध बन्यो । अर्जेन्टिनामा त्यो जितलाई फकल्यान्ड युद्धको प्रतीकात्मक बदला मानियो भने इङ्गल्यान्डमा त्यसलाई आजसम्म पनि पीडादायी हारका रूपमा सम्झिन्छन् । 

त्यसपछि पनि यो प्रतिस्पर्धा रोकिएन । सन् १९९८ को विश्वकपमा डेभिड बेकह्यामले रातो कार्ड पाएपछि इङ्ग्ल्यान्ड फेरि बाहिरियो र अर्जेन्टिनाले फेरि मनोवैज्ञानिक विजय हात पा¥यो । रङ्गशालामा गुञ्जिने ‘माल्भिनास हाम्रो हो’ भन्ने गीत, ब्यानर र नाराले यो प्रतिस्पर्धालाई केवल फुटबलमा मात्र सीमित राखेन । राजनीतिको ¥याङठ्याङ र आरोप–प्रत्यारोप त छँदै छ, मैदानभित्रको कागजी तथ्याङ्क हेर्ने हो भने पनि यी दुई टोलीबीचको लडाइँ निकै रोचक छ । अहिलेसम्म अर्जेन्टिना र इङ्गल्यान्ड आधिकारिक रूपमा १५ पटक आमने–सामने भएका छन्, जसमा इङ्गल्यान्डको पल्ला अलिकति भारी देखिन्छ । इङ्गल्यान्डले ६ पटक जित निकालेको छ भने अर्जेन्टिनाले ४ पटक जित हात पारेको छ, र बाँकी ५ पटक खेल बराबरीमा टुङ्गिएको छ । विश्वकपको महाकुम्भमा भने यी दुई टोली ५ पटक भिडिसकेका छन् र यहाँ पनि इङ्गल्यान्डकै रेकर्ड अगाडि छ । तर तथ्याङ्कले इङ्गल्यान्डलाई अगाडि देखाए पनि विश्वकपका नकआउट चरणका महत्त्वपूर्ण खेलहरूमा अर्जेन्टिनाले दिएका चोटहरू धेरै गहिरा छन्, जसले इङ्गल्यान्डको मुटु फुटाएको छ । इङ्गल्यान्डले १९६६ को जित सम्झिन्छ भने अर्जेन्टिना १९८६ को म्याराडोनाको जादु र १९९८ को पेनाल्टी सुटआउटको नतिजालाई आफ्नो छातीमा तक्मा जस्तै सजाएर हिँड्छ । त्यसैले हेड–टु–हेडमा जो अगाडि भए पनि, आगामी खेलमा यी पुराना रेकर्डहरू कागजमै सीमित हुनेछन् र मैदानमा फेरि नयाँ युद्ध कोरिनेछ ।

यही ऐतिहासिक र राजनीतिक पृष्ठभूमिमा अहिलेको इजिप्ट र अर्जेन्टिना विवादलाई हेर्नुपर्छ । रेफ्रीका निर्णय विवादास्पद थिए कि थिएनन् भन्ने बहस आफ्नो ठाउँमा छ, तर त्यसलाई विश्वव्यापी बहस बनाउने काममा बेलायती मिडियाको सक्रियता संयोग मात्र होइन ।  आजको फुटबलमा कथा कसले लेख्छ भन्ने कुरा पनि परिणाम जत्तिकै महत्त्वपूर्ण बनेको छ । कुनै टोलीलाई नायक बनाउने वा खलनायक बनाउने काम धेरै हदसम्म मिडियाले गर्छ । अहिले इजिप्ट–अर्जेन्टिना विवादलाई बेलायती मिडियाले जसरी प्राथमिकता दिएको छ, त्यसले सम्भावित सेमिफाइनलअघि नै वातावरण तातो बनाइसकेको छ । तर मैदानमा अन्तिम निर्णय खेलाडीले गर्छन्, अखबारले होइन । 

एकातिर सम्भावित सेमिफाइनल प्रतिद्वन्द्वी अर्जेन्टिनामाथि मानसिक दबाब बढाउने फुटबलीय स्वार्थ छ भने अर्कोतिर दशकौँ पुरानो राजनीतिक र भावनात्मक प्रतिस्पर्धाको छायाँ पनि अझै बाँकी छ । त्यसैले एटलान्टाको मैदानमा इजिप्ट अन्यायमा पर्दा बेलायती मिडियाहरू फुटबलको नियम सिकाउन होइन, बरु इतिहासको त्यही पुरानो युद्धको धङधङी र रिस साध्न अर्जेन्टिनाको खेदो खन्दैछन् भन्ने प्रस्ट देखिन्छ । अर्जेन्टिनासँग जोडिने हरेक विवाद बेलायतमा सामान्य खेल समाचारभन्दा धेरै ठूलो राजनीतिक र सांस्कृतिक कथाको हिस्सा बन्न पुग्छ । त्यसैले यदि यी दुवै टोलीले आ–आफ्नो क्वार्टरफाइनल जितेर सेमिफाइनलको यात्रा तय गरे भने, त्यो खेल फुटबलको इतिहासमै सबैभन्दा बढी तनावपूर्ण, रोमाञ्चक र कूटनीतिक इखले भरिएको महासंग्राम बन्ने पक्का छ । 

यदि अर्जेन्टिना र इङ्ग्ल्यान्ड फेरि भिडे भने म्याराडोना मैदानमा हुने छैनन्, मार्गरेट थ्याचर पनि इतिहास बनिसकेकी छन् । फकल्यान्ड युद्धका सैनिकहरू पनि धेरैजसो बितिसके वा वृद्ध भइसके । तर उनीहरूले छोडेको इतिहास र त्यसको प्रभाव भने प्रत्येक अर्जेन्टिनी र इङ्ग्लिस समर्थकको भावनामा अझै जीवित छ । सायद त्यसैले यो प्रतिस्पर्धा कहिल्यै पुरानो हुँदैन । विश्वकपले ब्राजिल भर्सेस् अर्जेन्टिना, जर्मनी भर्सेस् नेदरल्यान्ड्स, फ्रान्स भर्सेस् इटाली, वा स्पेन भर्सेस् पोर्चुगल जस्ता धेरै महान् खेलहरू देखेको छ, तर राजनीति, इतिहास, राष्ट्रिय गर्व र फुटबल एकै ठाउँमा यति तीव्र रूपमा मिसिएको प्रतिस्पर्धा भने अर्जेन्टिना भर्सेस् इङ्ग्ल्यान्ड जत्तिको कमै भेटिन्छ । यदि इङ्ग्ल्यान्ड र अर्जेन्टिना दुवैले आफ्नो चुनौती पार गरे भने विश्वकपले फेरि एउटा यस्तो खेल पाउनेछ, जहाँ प्रत्येक पासमा इतिहासको छाया हुनेछ, प्रत्येक गोलमा राष्ट्रको गर्व मिसिएको हुनेछ, र प्रत्येक निर्णयमा संसारभरका करोडौँ आँखाको नजर हुनेछ । त्यसपछि प्रश्न एउटै मात्र बाँकी रहनेछ– यो केवल एउटा सेमिफाइनल खेल हुनेछ कि इतिहासको अर्को युद्ध?

यहाँ इङ्ग्ल्यान्ड र अर्जेन्टिनाको खेलमा अचानक ‘बेलायत’ कहाँबाट आयो र यो प्रसङ्ग कसरी मिल्यो भन्ने कतिपयलाई लाग्न सक्छ । वास्तवमा इङ्ग्ल्यान्ड एउटा देश हो, तर भनेको चारवटा फरक–फरक देशहरू मिलेर बनेको एउटा संयुक्त राज्य होस जसमा इङ्ग्ल्यान्डसँगै स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्ड पर्दछन् । राजनीतिक, कूटनीतिक र ऐतिहासिक रूपमा अर्जेन्टिनासँग द्वन्द्वमा होमिएको मुख्य शक्ति सिङ्गो बेलायती साम्राज्य थियो । तर, फुटबलको मैदानमा बेलायतका अन्य देशहरू नभई केवल ‘इङ्ग्ल्यान्ड’को प्रतिस्पर्धा बढी हुने गर्छ । यसरी मैदानमा प्रतिद्वन्द्वी इङ्ग्ल्यान्ड मात्र देखिए पनि अर्जेन्टिनाको ऐतिहासिक रिस र दुस्मनी भने समग्र बेलायतसँग नै जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस्